• ८ वैशाख २०८१, शनिबार

‘सन्दीपले फेरि राष्ट्रिय टोलीको कप्तानी पाउनेछन्’

blog

काठमाडौं, पुस २९ गते । अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपाल क्रिकेट सङ्घ क्यानले क्रिकेटको विकासका लागि सन्दीप लामिछानेलाई पुनः क्रिकेट टिमको कप्तानी दिनुको विकल्प नरहेको बताउनुभएको छ । शुक्रबार सुन्धारास्थित केन्द्रीय कारागारमा क्रिकेटर लामिछानेलाई भेटसँगै सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अधिवक्ता घिमिरेले यस्तो बताउनुभएको हो ।

उहाँले सन्दीपले क्रिकेट खेल्न नपाएसँगै नेपाली क्रिकेटको स्तर खस्किरहेको अवस्थालाई विचार गरेर पुनः कप्तानीको रुपमा क्यानले लामिछानेलाई जिम्मेवारी दिनुपर्ने भनाइ राख्नुभयो ।

बलात्कारको आरोप लागेसँगै क्यानले कप्तानीबाट हटाएको भए पनि जेलबाट छुटिसकेपछि भने लामिछानेलाई कप्तानीको जिम्मेवारी दिनुपर्ने धारणा अधिवक्ताको छ । लामिछाने मुद्दाका कारण क्यानको निलम्बनमा परेको तर क्यानको कारबाहीमा नपरिसकेकाले पुनः कप्तानी दिनुपर्ने माग गर्नुभयो ।

अधिवक्ता घिमिरेले भन्नुभयो, ‘‘शर्त राखिएका छन्, त्यसकै लागि जानकारी गराउन मैले भेटेर आएको हुँ । उ निलम्बनमा परेको हो, कारबाहीमा होइन, उ जेलबाट छुटिसकेपछि पुनः उसलाई क्यानले कप्तानी दिनुपर्छ । क्रिकेटको अवस्था कसरी गइरहेको छ, त्यो हेर्दा नै थाहा भइहाल्छ । क्रिकेटलाई जोगाउनु छ भने क्यानले गम्भीर बनेर नेपालको क्याप्टेन बनाउनुपर्छ ।’’

अधिवक्ता घिमिरेले आज सन्दीपलाई अदालतले दिएको आदेशका बारेमा आफूले जानकारी गराएको बताउनुभयो । उच्च अदालतबाट फाइल जिल्ला अदालतमा जाने र जिल्ला अदालतमा धेरौटी जम्मा गरेर केही इन्टरनल काम पूरा गर्न पुनः कारागारमा जाने र त्यसपछि स्वास्थ्य परीक्षण गरी तारिखका लागि जिल्ला अदालत पुगेर छुट्ने बताउनुभयो ।