• ७ वैशाख २०८१, शुक्रबार

हस्तकला उद्योगलाई सातै प्रदेशमा विस्तार गर्छौं : प्रधानमन्त्री प्रचण्ड

blog

ललितपुरमा आयोजित नेपाल हस्तकला महासङ्घको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर : प्रधनमन्त्रीको सचिवालय

काठमाडौं, पुस २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला उद्योगलाई सात वटै प्रदेशमा विस्तार गर्ने बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासङ्घको ४२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले बागमती प्रदेशले हस्तकला उद्योगकलाई प्रबर्द्धन गर्ने कामको थालनी गरिसकेको भन्नुहुँदै सरकारले आगामी दिनमा सात वटै प्रदेशमा हस्तकला क्षेत्रको प्रवर्द्धन गर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले हस्तकला क्षेत्र नेपालका लागि विकासको अर्ग्यानिक क्षेत्र भएको उल्लेख गर्दै नेपालकै वस्तुहरुको प्रयोगबाट नेपालीहरुकै सीप र जागरलाई प्रयोग गरी विश्वभर व्यापार गर्नसकिने यो क्षेत्रको प्रवर्द्धन सरकार लाग्ने धारणा व्यक्त गर्नुभयो ।


उहाँले हस्तकला क्षेत्र राम्रोसँग प्रबर्द्धन गर्नसके देशको गम्भीर व्यापार असन्तुलनको स्थिति सन्तुलनतिर ल्याउनसक्ने र विदेशी मुद्राको सञ्चिति बढाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘‘हस्तकला ग्राम स्थापनका लागि बागमती प्रदेशलाई धन्यवाद दिन्छु । यो कार्यक्रम सातै प्रदेशमा विस्तार गर्नका लागि सबै तयारी म गर्नेछु । हस्तकलाको क्षेत्र विकासको अर्ग्यानिक क्षेत्र हो । नेपालकै वस्तुहरुको प्रयोग गरेर, नेपालीहरुकै सीप र जाँगरलाई प्रयोग गरेर विश्वभर व्यापार गर्नसकिने र दिनप्रतिदिन बढाउँदै लैजान सकिने एउटा असिमित सम्भावना भएको क्षेत्र हो हस्तकला ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यो क्षेत्रलाई राम्रोसँग प्रवर्द्धन सकियो भने देशको गम्भीर व्यापार असन्तुलनको स्थिति सन्तुलनतिर ल्याउन सक्छौँ । विदेशी मुद्राको सञ्चिति बढाउन पनि सहयोग पुग्छ । हाम्रो लागि सम्भावना धेरै भएको क्षेत्र हस्तकलाको क्षेत्र हुनसक्छ ।’’


प्रधानमन्त्री प्रचण्डले आफूले यस पटक राम्रा बाहेकका काम गर्दै नगर्ने प्रण लिएको बताउनुभयो । प्रधानमन्त्रीको तेस्रो कार्यकाललाई ठूलो अग्निपरीक्षाको रुपमा लिएको भन्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जनताको यो अग्निपरीक्षामा राजनीतिक दलहरु पास भएर देखाउनुपर्ने बताउनुभयो ।


प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘यो पटक राम्रो काम गर्ने, काम गरेर देखाउने, सकेसम्म भाषण कम गर्ने कोशिस गर्ने, काम धेरै गर्ने, राम्रा काम मात्रै गर्ने, नराम्रा काम गर्दै नगर्ने, गर्न पनि नदिने । त्यो अठोटका साथ म तेस्रो पटक ४४ औं प्रधानमन्त्रीको रुपमा आएको छु । मैले यसलाई ठूलो अग्निपरीक्षा सोचेको छु । जनतमा निराशा र असन्तुष्टि धेर छ । अझै पनि एक पटक मौका दिनुपर्छ भनेर जनताले ठूलो विवेक प्रयोग गरेको देखिन्छ । कसैलाई निषेध पनि गरेका छैनन्, कसैले दम्भ गर्ने छुट पनि दिएका छैनन् ।’’ 

प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रलाई राम्रो विश्वासमा नलिकन सरकारले अर्थतन्त्रमा देखापरेका समस्याको समाधान गर्न सम्भव नरहेको पनि बताउनुभयो । राजनीतिक परिवर्तन भइसकेको र अब आर्थिक क्रान्ति, आर्थिक समृद्धिमा रुपान्तरण गर्नुपर्नेमा आफू प्रयत्नशील रहने बताउनुभयो ।