निजामती सेवामा अतिवृत्तिवादी प्रवृत्ति

Gopinath-mainali-npcगोपीनाथ मैनाली

 

नेपालको निजामती सेवामा देशविदेशमा पढेलेखेका प्रतिभा बढ्दै गए पनि सार्वजनिक सेवा प्रवाहमा त्यसको पुष्टि हुन सकेको छैन । कर्मचारीमा विस्तारै अतिवृत्तिवादी प्रवृत्ति देखिन थालेको छ । सेवा प्रवेशपछि प्रमोसन, परीक्षा र वृत्ति विकासका पक्षमा बढी नै ध्यान दिने प्रवृत्तिले नागरिक सेवा वितरणमा प्रतिकूल प्रभाव परी निजामती सेवाको छवि गिर्दै गएको छ । एकातर्फ सरकारले लगानी गरी तयार गरेको जनशक्ति उपयोग गरी सेवा प्रवाह र सरकारी नीति कार्यान्वयन गर्न नसक्नु र अर्कोतर्फ छिटो छिटो वृत्ति खुट्किला चढ्नेमा पनि माथिल्लोे पदमा पुगेपछि छिटै अवकाश हुने चिन्ताका कारण कर्मचारीमा स्वयम् उत्साह जगाउन नसक्नुको दोहोरो मारमा निजामती सेवा पुगेको छ । तेस्रो मार पनि छ, त्यो हो आस्था र आग्रहले अनुशासनहीनता पनि हर्किएको छ ।
निजामती सेवाभित्र ज्ञान र विज्ञता भएका प्रतिभाहरू बढ्दै गए पनि त्यसलाई सीपमा परिणत गरी कार्यरूपमा उतार्न नसकिएकोले समग्र प्रणाली नै अकर्मण्य बन्दै जाँदा समग्र राज्य सञ्चालन कुँजो बन्न सक्छ । यसले शासन प्रणाली र विकास व्यवस्थापनलाई सीधै चुनौती दिन्छ । भनिन्छ, निजामती सेवाले अनुमति दिएभन्दा उत्तम राज्य प्रणाली हुनै सक्दैन ।
निजामती सेवा आफैँमा राष्ट्रसेवाको अवसर पनि पाउने र वृत्ति अवसर पनि पाउने दोहोरो फाइदाको वृत्तिप्रणाली हो । यसभित्रको प्रवेशले सामाजिक प्रतिष्ठा र सुरक्षाको सुनिश्चितता पनि दिन्छ । मुलुुकको विभिन्न भूगोल र संस्कृतिसँग घुलमिल हुने, सामाजिक सम्बन्ध कायम हुने र कार्य परिवेशबाट माझिदै जाने अवसरका कारण निजामती सेवा जिम्मेवारीभन्दा पनि अवसर पनि हो तर यसलाई अवसरका रूपमा मात्र लिँदा सेवाका आदर्श, निष्ठा र नैतिकताजस्ता पक्ष ओझेलमा पर्ने गरेका छन् । कर्मचारी सधँै कर्मको आचरण गर्छ । कामबाहेक उसको नाम वा पहिचान केही छैन भन्ने आदर्श स्थापित छ । तर यदि उसले सामाजिक अपेक्षाअनुसार कार्यसम्पादन गरेन भने कर्मचारी नामजस्तो कर्मको आचरण गर्ने वर्ग बन्दैन, जुन अहिले देखिएको छ ।
कर्मचारीमा अहिले किन अतिवृत्तिवादी प्रवृत्ति हुर्कियो वा किन पेशागत अनुशासनमा रहेनन् भन्ने सन्दर्भमा हामीले छानेको निजामती सेवा कस्तो हो भन्ने पृष्ठभूमिको सापेक्षमा रहेर विश्लेषण गर्नुपर्ने हुन्छ । नेपालले अवलम्बन गरेको निजामती सेवा नर्थकोट ट्रेभेलियन प्रतिवेदनपछि संस्थागत हुँदै आएको निजामती सेवा हो जसका दुई प्रमुख विशेषता छन् ः (क) पहिलो योग्यता प्रणाली, जसले सेवा प्रवेश र त्यसपछिका वृत्तिगतिशीलतालाई उसको क्षमतासँग आबद्ध गर्दछ । (ख) दोस्रो, राजनीतिक रूपमा मूल्य तटस्थ निजामती सेवा, जसले जुन राजनीतिक विचारधारा बोक्ने दल शक्तिमा पुगे पनि जनतामा पुग्ने सेवा विना भेदभाव सुनिश्चित गर्ने साथै पेशागत विशिष्ठताका आधारमा राजनीतिक कार्यकारी÷समाजसँग सम्बन्ध कायम गर्छ । राजनीतिक कार्यकारी सूचना, परामर्श र आवश्यक पर्दा व्यावसायिक चेतावनी पनि दिने गर्छ ।
निजामती सेवामा भर्ना तथा वृत्ति व्यवस्थित गर्ने दुई पद्धति (क) जेष्ठतामूलक र (ख) प्रतिस्पर्धामूलक मध्ये नेपालले दुवै पद्धतिको आदर्श मिश्रण गरेको छ । यसको आशय कार्यसम्पादन क्षमता उम्दा भएका र अनुभवले खारिएका वरिष्ठ पनि वृत्ति तह चढून र प्रतिस्पर्धात्मक क्षमता राम्रा भएका मेघावी प्रतिभा पनि प्रशासनिक नेतृत्वमा पुगून भन्ने हो । अनुभव र प्रतिस्पर्धात्मक क्षमताका समागमले सधँै राम्रो नतिजा दिन्छ भन्ने सोच नीति निर्माताले राखेको देखिन्छ । यसले प्रणालीभित्र अनुभव र प्रतिभाको समवेशीकरण र सिर्जनात्मक तनाव पैदा गर्ने उद्देश्य राखेको देखिन्छ । यसर्थ निजामती सेवामा यी मूल्य स्थापना गर्दा निजामती सेवा वास्तवमै उम्दा, इमानदार, व्यावसायिक, नतिजामुखी र जनमुखी हुन्छ भन्ने निष्कर्ष हो । साथै सङ्गठनलाई सहभागितात्मक मान्यताअनुरूप लैजान युनियनले सहयोग गर्छ भन्ने मान्यता पनि राखिएको हो ।
उद्देश्य र प्रावधान जेजस्ता भए पनि अभ्यास र उपलब्धिका आधारमा नै प्रणालीको मूल्याङ्कन हुने हो । निजामती प्रणाली कति योग्यतामूलक र मूल्यमा आधारित छ भन्ने कुरा कार्यसम्पादन उपलब्धि र उसप्रतिको सर्वसाधारणको सम्बन्धमा देखिने हो । अहिलेको अवस्था हेर्दा निजामती सेवाले न राज्य इच्छालाई संस्थागत गर्ने क्षमता र निष्ठा देखाउन सक्यो न सेवाग्राही नागरिकलाई सन्तुष्टि दिन सक्यो । न राजनैतिक कार्यकारीको विश्वास जित्न सक्यो, न राज्यसंरचना बाहिरका पात्रसँग सहकार्य गर्ने क्षमता देखाउन सक्यो । न खुला प्रतिस्पर्धाबाट आएका व्यक्तिहरूले प्रणालीभित्र सिर्जनात्मक तनाव ल्याउने सामथ्र्य नै देखाउन सके । केवल पदलाई अवसरका रूपमा लिई वृत्ति शृङ्खलामा निरन्तर अघि बढ्ने र सुविधा सोचको मौलाउँदै गएको देखियो । यसलाई एक प्रकारको विकृति नै भने हुन्छ ।
प्रश्न उठ्न सक्छ, के अतिवृत्तिवादी प्रवृत्ति हानिकारक हो ? के गरेर यो प्रवृत्ति सुधार (विकृति नियन्त्रण) गर्न सकिन्छ ? निजामती सेवा क्षमता, इमानदारिता, निष्ठा र नैतिकताका आधारमा क्रियाशील हुने प्रणाली हो । क्षमता मात्र भएर निष्ठा र नैतिकता भएन भने यसको अर्थ रहँदैन भने क्षमताबिहीन निष्ठा र नैतिकताले पनि प्रणाली निर्माण गर्न योगदान गर्न सक्दैन । कर्मचारीको क्षमताविहीनता वा कुण्ठाले सेवाग्राहीको अपेक्षा पूरा नहुनु प्रणालीगत अपराध नै हो । साथै वैयक्तिक प्रतिभा बढ्ने (बढुवा हुने) तर कार्यसम्पादन उपलब्धि चाहिँ दिन नसक्ने अवस्था पनि नागरिकप्रतिको अन्याय हो । यस अवस्थामा निजामती कर्मचारीको वृत्ति प्रणालीमा आमूल परिवर्तन गरिनु पर्छ । अन्यथा कार्यमूलक, मूल्यमा आधारित, व्यावसायिक र जनमुखी निजामती सेवा निर्माण गर्न सकिँदैन ।
यस्ता प्रवृत्तिलाई सुधार गर्न केही महìवपूर्ण कार्य निरन्तर गरिनु आवश्यक छ, जसबाट यसले स्वचालित मार्ग प्रशस्त गर्न सकोस् । पहिलो, निजामती सेवाको परीक्षण विधि नै सुधार गर्नु आवश्यक छ । अहिले लोकसेवा आयोगले निष्पक्ष परीक्षा प्रणाली अवलम्बन गरे पनि व्यक्तिको ज्ञानको मात्र परीक्षण भएको छ, सीप र स्वभावको परीक्षण हुन सकेको छैन । कार्यविधिगत निष्पक्षता आवश्यक छ, सवैथोक होइन । लिखित परीक्षा, त्यहाँभित्रको ब्लाइण्ड सिस्टम र परीक्षण विधिले अमूक पदका लागि चाहिने क्षमता र स्वभाव आंकलन गर्दैन । यसर्थ पहिलो कुरा पाठ्यक्रमलाई सीपमा आधारित बनाउने, दोस्रो कुरा दोस्रो चरणमा स्वभाव र क्षमताको स्तर परीक्षण गर्ने र तेस्रो चरणमा कार्यजिम्मेवारी पाएको निश्चित अवधिपछि वैधता परीक्षण गर्ने चरणबद्ध विधि अवलम्बन गर्न सकिन्छ । व्यवस्थापनका उच्च तहमा छनोट गर्नुअघि नेतृत्व क्षमता र परिस्थितिवोध क्षमता पनि त्यत्तिकै आवश्यक छ । अहिले पहिलो चरणको परीक्षण मात्र भएकोले पढेर नै माथि पुगिन्छ भन्ने मनोवृत्ति विकास भएको हो ।
उम्मेदवार सेवामा प्रवेश गर्ने वित्तिकै खटिएको कार्यालयसँग सामाजिकीकरण र कामको अभिमुखीकरण गरिनु जरुरी छ । अहिले सामाजिकीकरण त गरिदैन नै, स्टाफ कलेजले गर्ने सेवा प्रवेश तालिमले कार्य अभिुमुखीकरणभन्दा अनुशासनहीनता र काम नगर्दा पनि हुन्छ भन्ने सन्देश गएको छ । सेवाप्रवेश तालिमले व्यक्तिलाई सेवा अभिुमुखीकरणबाट अलग्याएको छ । कोर्स मोडल, प्रशिक्षण विधि र प्रविधि परिवर्तन गर्नु आवश्यक छ जसबाट काम नै कार्यप्रेरणा हो भन्ने आन्तरिक भावना जगाउन सकियोस् ।
व्यक्तिलाई पदस्थापन गरी कार्यजिम्मेवारी दिएपछि उसलाई खास कामको नतिजाप्रति जिम्मेवार बनाउने गरी कार्यविवरण दिनुपर्छ र सङ्गठनभित्र दह्रिलो कार्यसम्पादन प्रणाली लागू गरिनुपर्छ । साथै प्रत्येक आर्थिक वर्षमा पुनर्ताजगी तालिम र अनुभव आदानप्रदान कार्यक्रममार्फत् नयाँ प्रविधि, नीति, निर्देशिकाका विषयमा जानकारी दिनुपर्छ । कुन प्रकारको पुनर्ताजगी कार्यक्रम सञ्चालन गर्ने भन्ने विषय व्यक्तिको जिम्मेवारी, स्वभाव, सीपको स्तर, कार्यमुकाम र उमेरजस्ता आधारमा निर्धारण गरिनु पर्छ ।
हाल रहेको बढुवा प्रणालीमा पनि परिवर्तन गर्नुपर्छ । प्रतिस्पर्धात्मक परीक्षालाई परिमार्जनसहित अपनाउनु आवश्यक छ । कुनै पनि पदको एउटा वृत्ति चक्र (७ वर्ष) लाई उपल्लो पदमा परीक्षाको पूर्वशर्तका रूपमा लिनु पर्छ । तीस वर्षलाई अधिकृत सेवा प्रवेशको उमेर कायम गरी त्यसपछि प्रत्येक सात वर्षपछि मात्र माथिल्लो पदको प्रतिस्पर्धात्मक÷कार्यसम्पादन बढुवाको योग्यता शर्त कायम गरी यो क्रम त्यसपछिका पदहरूमा पनि कायम गर्नु उचित हुन्छ । बढुवा हुनका लागि निश्चित ब्राकेटभित्र परेका (नकारात्मक सूचीमा नपरेका) लाई व्याच प्रणाली लागू गरिनु पर्छ ।
सेवाग्राही नागरिकसँग निरन्तर अन्तक्र्रियाको स्वचालित प्रणाली बसाइनु पर्छ । कतिपय कार्यमा नागरिक पहँुच विस्तार र सहउत्पादनको प्रक्रिया पनि अवलम्बन गर्न सकिन्छ । यस प्रकारको व्यवस्थाले निजमती सेवालाई सुध्रिने स्वाभाविक मनोवैज्ञानिक दबाब पर्दछ । उत्कृष्ठ कार्यसम्पादन गर्नेका लागि मात्र मान, पदवी पुरस्कारबाट प्रोत्साहन गरिनुपर्छ । पुरस्कार वा सम्मानबाट प्रोत्साहनको आधार सेवाग्राही सन्तुष्टिलाई पनि लिनुपर्छ भने प्रस्तावित व्यक्तिउपर शिकायत र सुनुवाइको माध्यम खुला गरिनु पर्दछ । एकजना मात्र गलत व्यक्ति पुरस्कृत भएमा पूरै प्रणाली दण्डित हुन्छ, जसरी अहिले भएको छ ।
युनियनिज्मको कार्यप्रणाली व्यवस्थित गर्न बेलायतको जस्तो व्हीट्ले काउन्सिल विधि अपनाउन सकिन्छ । युनियन एउटा मात्र हुनुपर्छ र त्यसले प्रणाली सुधार र निजामती सेवाका गरिमा विस्तार गर्न काम गर्नुपर्छ । यसको कार्यसम्पादन विधि बनाई सम्पादित कामको तेस्रो पक्षसमेत भएको परीक्षण संयन्त्र बनाइनु पर्छ । विधि र व्यवस्थालाई निर्मम विवेकशीलताको सिद्धान्तमा अवलम्बन गरिनु पर्छ । निजामती सेवाको पद हरेक दिन, महिना र पदमा परीक्षित हुँदै वृत्ति चढ्ने पद हो, त्यसको आधार कार्यसम्पादन क्षमता मात्र हो । यसर्थ प्रणाली निर्माण सहज होइन, तर असम्भव पनि छैन । मात्र वास्तविक इच्छाशक्ति चाहिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds