द्वन्द्वकालीन घटनामा आयोगले फागुन मसान्तसम्म उजुरी लिने

काठमाडौँ, फागुन २ गते । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द्वकालीन घटनाका उजुरी दिन पुनः एक महिना समय दिएको छ । आयोगले उजुरी संकलन बन्द गरे पनि पीडितले उजुरी दिन पाउनुपर्ने माग गर्दै आएका थिए । सरकारले आयोगको म्याद थप गरेसँगै पीडितको माग अनुसार फागुन मसान्तसम्म उजुरी दिन सकिने व्यवस्था गरेको हो ।

आयोगका प्रवक्ता प्रा.डा. विष्णु पाठकले पीडितको माग अनुसार उजुरीको समय थप गरिएको बताउनुभयो । पाठकले भन्नुभयो, ‘आयोगको म्याद थपिएको र पीडितको उजुरीका लागि पनि समय थप गर्नुपर्छ भन्ने माग आए पछि उजुरीका लागि समय थप्ने निर्णय गरिएको छ । उहाँले अब फागुन मसान्तसम्म पीडितले उजुरी दर्ता गर्न सक्ने जानकारी दिनुभयो ।
आयोगको निर्णय अनुसार पीडितले यसअघि कायम रहेको ७५ जिल्लाका स्थानीय शान्ति समिति सचिवालयमा उजुरी दिन सक्नेछन् । यस्तै, आयोगको केन्द्रीय कार्यालयमा पनि उजुरी दिन सक्ने व्यवस आयोगले मिलाएको छ ।
हालसम्म आयोगले दुई हजार २८९ व्यक्ति बेपत्ता भएको अन्तिम विवरण सार्वजनिक गर्दै आएको छ । आयोगले यसअघि दुई पटकसम्म उजुरी दिने समय थप गरी उजुरी संकलन गरेको थियो । करिव २८ सय उजुरीमध्ये करिव पाँच सय उजुरी आयोगले द्वन्द्वकालीन घटनामा छानविनका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोगलाई हस्तान्तरण गरेको थियो । क्षेत्रधिकारका कारण केही उजुरी तामेलीमा राखिएका छन् ।
पहिलो एक वर्ष नियमावली अभावमा काम सुरु गर्न नसकेको आयोगको म्याद दोस्रो पटक थपिएको हो । सुरुमा दुई वर्षका लागि आयोग गठन भए पनि एक वर्ष समय थप गरिएको थियो । एक वर्ष थपिएको समयमा पनि काम सम्भव नभएपछि पुनः एक वर्ष म्याद थप गरिएको हो ।
आयोगले हालसम्म उजुरी संकलन गरी प्रारम्भिक अनुसन्धान सकेको छ । केही घटनाको विस्तृत अध्ययन समेत सुरु गरेको छ । व्यक्ति बेपत्ता हुनुपूर्वको हुलिया संकलन (एन्टिमार्टम) काम पनि आयोगले सुरु गरेको छ ।
आयोगले २०५२ फागुन १ गतेदेखि २०६३ मङसिर ५ गतेसम्म भएका द्वन्द्वकालीन घटनामा उजुरी लिनेछ । उजुरीमाथि छानविन गरी आयोगले घटनाबारेको प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । सरकारका महान्यायाधिवक्ताले गरेको निर्णयअनुसार मुद्दा चल्ने वा नचल्ने विषयमा अन्तिम निर्णय हुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds