• ८ वैशाख २०८१, शनिबार

सडक अनुगमनपछि खाल्डो पुर्न मन्त्री श्रेष्ठद्वारा निर्देशन (फोटो फिचर)

blog

बालाजु, लैनचौर र लाजिम्पाट क्षेत्रको सडकको अनुगमन गर्नुहुँदै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : कबिन अधिकारी

काठमाडौँ, पुस २९ गते । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठद्वारा शुक्रवार बिहानै बालाजु, लैनचौर र लाजिम्पाट क्षेत्रको सडकको अनुगमन गर्नुभएको छ । अनुगमनपछि सडकमा देखिएका खाल्डाहरू तत्काल पुर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । 

सडकको अवस्था जीर्णसँगै ड्रेन र ढलहरूमा समस्या देखिएकाले सडकको अवस्था जीर्ण हुने गरेको भन्दै इन्जिनियरहरूले गम्भीर भएर सडक र ढललाई नियमित रूपमा अनुगमन गरी मर्मत सुधार गर्न उहाँले निर्देशन दिनुभएको हो । 

मन्त्री श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । उहाँले आफूले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताउनु भयो । 

प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटीले धेरै सडकहरूको बिचल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्न सक्ने निर्देशन दिनुभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले प्रधानमन्त्रीलाई उक्ता कुरामा जोडेर नहेर्न आग्रह गर्नुभयो । उहाँले सडकमा समस्या देखिएपछि भाग्ने नभई सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताउनु भयो । उहाँले जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिन । निरपेक्ष ढङ्गले काम गर्छु । आवश्यकतालाई जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ । त्यो प्रधानमन्त्रीको निर्देशन छ, त्यससँग प्रधानमन्त्रीलाई नजोडी दिनुहोला । राज्यले जनतालाई दिनुपर्ने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा हामी कसैसँग पनि सम्झौता गर्दैनौँ । समस्या देखिएपछि पूरा गर्नुपर्छ । छोड्नुभएन । के सहयोग चाहिन्छ त्यो सम्बन्धित निकायमा प्रस्ताव राखेर काम गर्नुपर्छ । हामी जनतालाई यस्तो सडक दिन सक्दैनौँ ।’

सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरू पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताउनु भयो । उहाँले यस किसिमका समस्या समाधान गर्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले सडक कम भन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मतसम्भार हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘देशभरकै सडकलाई दुरुस्त बनाउने, राम्रोसँग गाडी चलाउने बनाउने, फुटपाथ पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागेका छौँ । हामीले कति खाल्डोहरू छन् भनेर नियालिरहेका छौँ । राज्यको दायित्व सबै स्थानीय सरकारदेखि सबै सरकार मिलेर एकीकृत ढङ्गले काम गर्नेछ । सडकमा खानेपानी, ढल, विद्युत् प्राधिकरण, दूर सञ्चारको कामहरू छ, एकीकृत ढङ्गले अघि बढ्नुपर्छ, सडक कम खनियोस्, खनिएको ठाउँमा सडकका निश्चित जानकारी बिना खन्ने काम नहोस् । खनिएको ठाउँमा पुनः स्थापित गर्ने काम तत्काल होस् भनेर हामीले बेठिक गरेका छौँ । हामी अहिलेका सबै मिलेर काम गरिरहेका छौँ । राजधानीमा सडकको यो अवस्था अनुपयुक्त छ । सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाउँदै छन् ।’


तस्बिर: कबिन अधिकारी