• ८ वैशाख २०८१, शनिबार

टेलिकमको लाभांश पारित

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २९ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । 

कम्पनीको बिहीबार सम्पन्न १५औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफामध्येबाट प्रतिसेयर ४० रुपियाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

लाभांश रकम बिहीबारदेखि नै एनएमबी बैङ्कमार्फत सर्वसाधारण सेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । साधारण सभाका अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कोभिड महामारीको असरका बीच पनि कम्पनीले सापेक्षित सफलता हासिल गरेको बताउनुभयो । 

दूरसञ्चार क्षेत्रको विश्व बजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले विकट क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्ने र डिजिटल नेपाल बनाउने सरकारको अवधारणामा सहयोग गर्ने गरी कम्पनीले आफ्ना कार्यक्रम तय गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा अध्यक्ष अर्यालले कम्पनीका सेवाका गुणस्तर सुधारमा विशेष ध्यान दिइने, भ्वाइस सेवामा सुधार गर्दै भ्यालु एडेड सर्भिस र कन्टेन्ट बेस्ड सेवाको विस्तार गर्ने योजना रहेको बताउनुभयो ।

साधारण सभाको अवसरमा उहाँले कम्पनीका चालू तथा नयाँ आयोजनाअन्तर्गत वायरलाइन, वायरलेस, सूचना प्रविधि तथा बिलिङ र ब्याकबोन प्रसारणतर्फ भइरहेका कार्यका बारेमा समेत जानकारी दिनुभएको थियो ।