तल्लो हेवाको काम अन्तिम चरणमा

नारायण तुम्बापो

फिदिम, फागुन १ गते । तल्लो हेवा जलविद्युत् आयोजनाको काम ९६ प्रतिशत सम्पन्न भएको छ । आयोजना प्रमुख गणेश सुब्बाका अनुसार २२.२ मेगावाट विद्युत् क्षमताको आयोजना अन्तिम चरणमा पुगेको छ ।
माउन्टेन हाइड्रो पावर लिमिडेटद्वारा तीन वर्षअघि निर्माण भइरहेको यस आयोजनाको काम सक्न अब तीन महिना लाग्ने बताइएको छ । यस आयोजनाको इन्टेक, बाँध, पावर हाउस, बालुवा थिगार्ने डिसेन्डर र पानीको चाप नियन्त्रक सर्ज ट्याङ्क निर्माण भइसकेको छ । पाँच हजार तीन सय मिटर दूरीको सुरुङ खन्नुपर्नेमा अब १८० मिटर मात्र बाँकी रहेको प्रमखु सुब्बाले बताउनुभयो ।
त्यस्तै छ सय मिटर पेनस्टक पाइपमध्ये चार सय मिटर जडान गरिसकिएको छ । कन्ट्रोल रुमको काम सक्न डेढ महिना र मेसिन राख्न तीन महिना लाग्ने बताइएको छ । यो आयोजना हेवा र फेमे खोलाको पानी मिसाएर बनाउन लागिएको हो । हेवातिरको इन्टेक फिदिम नगरपालिका ११, नागिन सेजेपा र हिलिहाङ गाउँपालिका–७ भारापाको सीमामा बनेको छ । फेमेतिरको इन्टेक फिदिम ११ र ४ वडाको बढारेमा बन्नुका साथै पावर हाउस फिदिम ४, को सारान्थामा रहेको छ । hewa
तीन अर्ब ६६ करोड रुपियाँको लागतमा सक्ने गरी बनाउन थालिएको आयोजनाको लागत बढेर चार अर्ब २५ करोड पुग्ने जनाइएको छ । नाकाबन्दी, भूकम्पजस्ता समस्याका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसक्दा लागत बढेको आयोजनाका कार्यकारी अध्यक्ष सीताराम तिम्सिनाले बताउनुभयो । यो आयोजना निर्माणका लागि १२ वटा राष्ट्रिय वाणिज्य बैङ्कको ७० प्रतिशत लगानी रहेको छ । आयोजना प्रभावित र देशवासीका लागि कुल लागत पुँजीको १० प्रतिशत बराबरको २० करोड सेयर खुला गर्न लागिएको पनि जनाइएको छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना