उदाहरणीय कार्य (सम्पादकीय)

जुम्लाको सदरमुकाम खलङ्गामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालको नवनिर्मित भवनको प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार उद्घाटन गर्नुभयो । यो नयाँ भवनले दुर्गम क्षेत्रमा स्थापना भएर विगत छ वर्षदेखि स्वास्थ्य सेवा दिने र दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गरिरहेको यस प्रतिष्ठानलाई थप सुविधा र पूर्वाधार सम्पन्न बनाएको छ । यसअघि एक सय शय्यासहितको अस्पताल थियो । दुर्गम क्षेत्रमा स्थापना भएर पनि २५ जना विशेषज्ञ चिकित्सकसहित १५ जना एमबीबीएस चिकित्सकसहित डेढ सय जनशक्तिले गुणस्तरीय सेवा दिनसक्नु उदाहरणीय कार्य हो । यस प्रतिष्ठानले पिछडिएका जिल्ला हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, जाजरकोट, बझाङ, बाजुरा र अछामका बासिन्दालाई सहज रुपमा स्वास्थ्य सेवा दिइरहेको छ । आ.व. २०७३÷७४ मा साढे २६ हजार बिरामीलाई बहिरङ्ग, साढे दुई हजारलाई भर्ना गरी सेवा दिएको थियो । झण्डै पाँच सय बिरामीको जटिल शल्यक्रिया गरेको थियो । 

पिछडिएको क्षेत्रमा सहज रुपमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन, स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा सर्वसाधारण जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन २०६८ सालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठानले आर्थिक, सामाजिक रुपमा पिछडिएको कर्णाली क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा सहज बनाएको छ । स्वास्थ्य सेवाका अतिरिक्त स्वास्थ्य जनशक्ति उत्पादनमा पनि यो प्रतिष्ठान काम गरिरहेको छ । स्टाफ नर्सको चौथो र स्वास्थ्य सहायक (हेल्थ असिस्टेन्ट) को तेस्रो व्याच उत्पादन भइसकेको छ । यसको अर्काे योगदान भनेको प्रतिष्ठानमा अध्ययन गर्न उपलब्ध सिटमध्ये ४५ प्रतिशत सिटमा पिछडिएको क्षेत्रका विद्यार्थीलाई अवसर दिइन्छ । यसबाहेक अस्पतालले विपन्नलाई निःशुल्क उपचार, स्वास्थ्य बीमाको सुविधा पनि दिएको छ । दुर्गम क्षेत्रमा स्थापना भएका कारण यस प्रतिष्ठानका चुनौती धेरै छन् । प्रतिष्ठान धेरैजसो समय पदाधिकारीविहीन हुन्छ । कतिपय अवस्थामा उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र निर्देशक नै पाउँदैन, पाए पनि लामो समयसम्म रहँदैनन् । सरकारले नियुक्त गर्ने कतिपय पदाधिकारी काठमाडौँमा बस्ने गर्छन् । यसले गर्दा प्रतिष्ठानका कार्यकारी परिषद्, सिनेट, प्राज्ञ परिषद्जस्ता निकायले पूर्णता पाउँदैनन् र शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालनमा समस्या आउने गरेको छ । पदाधिकारीको अनुपस्थितिमा प्रशासनिक समस्या पनि आउने गरेको छ । दुई वर्षपछि असोजमा प्रतिष्ठानको सिनेट बैठक भएको थियो । यसले गर्दा अस्पतालको व्यवस्थापनदेखि शैक्षिक र प्राज्ञिक कार्यक्रम प्रभावित हुने गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीको गौरव र विकासको आधार हो । यसले प्रदेश ६ का १० जिल्ला र प्रदेश ७ का तीन जिल्लामा स्वास्थ्य सेवा विस्तार गरेको छ । दुर्गम र पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गरेर अतुलनीय योगदान दिएको छ तर प्रतिष्ठानले भोग्नुपरिरहेका समस्या धेरै छन् । यी समस्या समाधान गर्न सरकारको सहयोग आवश्यक छ । प्रतिष्ठानले एमबीबीएसको अध्ययन अध्यापन सुरु गर्ने कार्यक्रम तय गरेको छ । मिर्गाैला, क्यान्सर र स्पाइनल इन्जुरी सेवासमेत विस्तार गर्ने तयारी गरेको छ । यसका लागि सरकारी सहयोग आवश्यक छ । शिक्षण अस्पतालका लागि आवश्यक पर्ने पूर्वाधार र सामग्रीको व्यवस्था गर्न सहयोगको आवश्यकता छ । सुगमका अस्पतालले दिने सेवा कर्णालीमै दिएकाले यसले दिने सेवा अझ विस्तार गर्दै लैजान अझ बढी स्रोत र साधन उपलब्ध गराइनुपर्छ । विशेषज्ञ सेवासहित आधुनिक उपकरण उपलब्ध गराई अस्पतालको सेवा स्तरोन्नति गर्न आवश्यक छ । दुर्गम स्थानमा प्रतिष्ठानले दिएको सेवा अरूका लागि अनुकरणीय छ । यसको अनुभवबाट अन्य दुर्गम क्षेत्रमा पनि अनुकरण गर्न आवश्यक छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds