• १३ वैशाख २०८१, बिहिबार

ज्येष्ठ नागरिकलाई सेवा लिनै सास्ती

blog

बुलबुले समाचारदाता

सुर्खेत, पुस २९  गते । जाजरकोटको भेरी नगरपालिका–३ का खड्कबहादुर केसीलाई राज्यले ज्येष्ठ नागरिकलाई के के सुविधा दिएको छ भन्नेबारे कुनै जानकारी छैन । राज्यबाट पाउने सुविधाबारे बेखबर हुँदा ७५ वर्षीय केसी सेवा प्राप्त गर्नबाट वञ्चित हुनुहुन्छ ।

सरकारले दिएको सामाजिक सुरक्षा सुविधामध्ये वृद्ध भत्ता मात्रै बुझ्दै आएका केसी त्यही लिन पनि निकै सास्ती हुने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “शारीरिक अवस्था कमजोर छ, भत्ता बुझ्न जाँदा अरूसरह लाइनमा उभिनुपर्छ । एउटै बैङ्कबाट भत्ता वितरण गर्दा हामीजस्ता अशक्त ज्येष्ठ नागरिकलाई निकै सकस भएको छ ।” 

बुढेसकालमा घरपरिवार र समाजबाट अपहेलित हुनु परेको तथा आफूले राज्यबाट पाउनुपर्ने सबै सेवासमेत नपाएको उहाँको गुनासो छ । सार्वजनिक स्थलहरूमा ज्येष्ठ नागरिकमैत्री संरचना नहुँदा पनि समस्या झेल्नु परेको केसीले बताउनुभयो । स्थानीय सरकारसँग यो विषयमा धेरै पटक माग गर्दा कुनै सुनुवाइ नभएको उहाँको भनाइ छ ।

अहिलेसम्म पालिकाले ज्येष्ठ नागरिक सेवा केन्द्र पनि स्थापना गरेको छैन । सामाजिक सुरक्षा भत्ता वितरण सहज र स्वास्थ्य तथा यातायातका क्षेत्रमा सरकारले दिएको सहुलियत पूर्ण रूपमा उपभोग गर्न उहाँहरूले पाउनुभएको छैन । जुम्लाको चन्दननाथ नगरपालिका–१० का तुलाराम न्यौपाने पनि ज्येष्ठ नागरिक हुनुहुन्छ । उहाँले पनि राज्यले दिएको सुविधा उपभोग गर्न नपाएको गुनासो गर्नुभयो । 

ज्येष्ठ नागरिकका लागि प्रदेशस्तरीय अन्तरपुस्ता संवाद कार्यक्रमका लागि वीरेन्द्रनगर आउनुभएका उहाँले आफूहरूको उमेर समूहका लागि छुट्याइएको सार्वजनिक बसको सिटसमेत नपाएको दुखेसो सुनाउनुभयो । हरेक गाउँटोलमा हुने विकास निर्माणका काममा पनि ज्येष्ठ नागरिकको सहभागितालाई सुनिश्चित नगरिएको न्यापौनेले बताउनुभयो ।

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षाका नाममा केही पैसा मात्रै वितरण गरेर ज्येष्ठ नागरिकप्रति राज्यको दायित्व पूरा नहुने बताएका छन् । उनीहरूले ज्येष्ठ नागरिकको गाँस, बास र कपासको सरकारले व्यवहारतः जिम्मा लिनुपर्ने जनाएका हुन् । न्यौपानेले घरबाट सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा पुग्नसमेत घण्टौँको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । 

सरकारले बैङ्कमार्फत दिने सेवा आफूलाई चित्त नबुझेको तर्क उहाँले गर्नुभयो । बरु पहिला गाउँ विकास समिति हुँदा घरघरमा भत्ता पुग्थ्यो, अहिले अरूको सहायतामा भत्ता बुझ्नुपर्दा धेरै कठिनाइ हुने गरेको उहाँले बताउनुभयो । 

सामाजिक सुरक्षा भत्ता बैङ्कमा दिँदा सुरक्षित हुने भए पनि ग्रामीण भेगका नागरिकलाई असजिलो भइरहेको उहाँको भनाइ छ । ज्येष्ठ नागरिकका लागि प्रदेशस्तरीय अभिमुखीकरण तथा अन्तरपुस्ता संवाद कार्यक्रममा वीरेन्द्रनगरमा सहभागी ज्येष्ठ नागरिकले सरकारले आफूहरूलाई सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया सहज, स्वास्थ्य र यातायातका क्षेत्रमा दिएको सहुलियत पूर्ण रूपमा उपभोग गर्ने वातावरण बनाइदिनुपर्ने माग गरेका छन् । 

सामाजिक विकास मन्त्रालयले ज्येष्ठ नागरिकसँग गरेको अन्तक्र्रियामा सहभागीले यस्ता गुनासो गरेका छन् । ज्येष्ठ नागरिक ऐन र नियमावलीमा आफूलाई यातायात सेवामा ५० प्रतिशत छुट, सरकारी अस्पतालमा निःशुल्क जाँच र औषधि उपलब्ध गराउनुपर्ने व्यवस्था भए पनि कार्यान्वयनमा समस्या रहेको उनीहरूको गुनासो छ । 

सामाजिक सुरक्षा भत्ताका लागि प्रक्रिया झन्झटिलो भएको भन्दै हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिने व्यवस्था मिलाउनुपर्ने ज्येष्ठ नागरिकको माग छ ।