• १६ चैत २०८०, शुक्रबार

दादुरा रोक्न विद्यालय बन्द

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, पुस २९ गते । नेपालगञ्ज उपमहानगरले बालबालिकामा तीव्र गतिमा दादुरा सङ्क्रमण फैलिन थालेपछि दुई दिन सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

उपमहानगरपालिकाले बिहीबार एक सूचना निकालेर दादुरा सङ्क्रमणका कारण बालबालिका उच्च जोखिममा परेको जनाउँदै सङ्क्रमण रोक्न बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ । माघी र शनिबारका कारण तीन दिन थप विद्यालय बन्द भई पाँच दिन बिदा हुने जनाइएको छ । 

उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोरखबहादुर थापाले दादुरा सङ्क्रमणविरुद्ध खोप लगाउने तथा अन्य रोकथामका उपाय अपनाउनका लागि बिहीबार र शुक्रबार सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।  हालसम्म नेपालगञ्ज र खजुरामा गरेर ११३ जना छ वर्षदेखि १५ वर्षसम्मका बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्जका १११ र खजुरा गाउँपालिकाका दुई जना बालबालिकामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । 

वडा नं. १, ९, १०, ११, १४, १५ र २२ मा दादुराको सङ्क्रमण फैलिएको छ । ती वडामा बढी दादुरा सङ्क्रमित भेटिन थालेपछि परीक्षण, चेतनामूलक कार्यक्रम, बिरामीको थप खोजी र खोप अभियान तीव्र पारिएको छ । एक साताअघि नेपालगञ्ज–७ का एकै घरका चार जना बालबालिकामा देखिएको दादुराबाट वडा नं. ५ निवासी सलामत शेषका ३१ महिनाका छोराको मृत्यु भइसकेको र ६० जना हाल बिरामी रहेको तथा दुई बालबालिका भेरी अस्पतालमा भर्ना भएका छन् ।