• १६ चैत २०८०, शुक्रबार

दस वर्षमा हजार जनाको प्रत्यारोपण

blog

काठमाडौँ, पुस २९ गते । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । 

धर्मभक्त प्रत्यारोपण केन्द्रमा पहिलो पटक २०६९ माघ ६ गते मिर्गौला प्रत्यारोपण भएको थियो । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सुरुमा प्रत्यारोपण गराउन बिरामी पाउनै मुस्किल रहेकोमा हाल तीन सय जना बिरामी प्रत्यारोपणको पालो पर्खाइमा रहेको जानकारी दिनुभयो ।

केही वर्षयता औसत वार्षिक दुई सय जनाका दरले प्रत्यारोपण हुन थालेको जानकारी दिँदै उहाँले नेपालमा आफ्नो नेतृत्वमा एक हजार ४८ जनाको मिर्गौला प्रत्यारोपण गरिसकिएको बताउनुभयो । डा. श्रेष्ठको नेतृत्वमा धर्मभक्त प्रत्यारोपण केन्द्र, वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । 

एउटा केन्द्रमा एक हजार जनाको मिर्गौैला प्रत्यारोपण हुनुलाई ऐतिहासिक सफलता भएको उहाँले बताउनुभयो । विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढिरहेको भन्दै उहाँले रोगको पहिचान तथा उपचार र रोकथामका महìवपूर्ण उपायबारे नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक १० जनामध्ये एक जनालाई कुनै न कुनै किसिमको मिर्गौला रोग लाग्ने गरेको अनुमान छ ।

डा. श्रेष्ठका अनुसार नेपालमा बर्सेनि करिब तीन हजार जनाको मिर्गौला फेल हुने गरेको छ । उनीहरूमध्ये धेरैको मिर्गौला प्रत्यारोपण हुन नसकेर मृत्यु हुने गर्दछ । डा. श्रेष्ठले मस्तिष्क मृत्युपश्चात् अङ्गदान तथा अङ्ग प्रत्यारोपण गर्न सकिने व्यवस्था भए पनि हालसम्म नगन्य सङ्ख्यामा मात्र प्रत्यारोपण भएको जानकारी दिनुभयो । उहाँले मस्तिष्क मृत्यु भएको जानकारी प्राप्त नहुँदा छ वर्षको अवधिमा जम्मा चार जना अङ्गदाताबाट प्राप्त आठवटा मिर्गौला र दुईवटा कलेजो मात्र प्रत्यारोपण हुन सकेको बताउनुभयो । 

श्रेष्ठका अनुसार भक्तपुर अस्पतालका लागि निर्माण भएको जम्मा एक सय शøयाको भवनमा केन्द्रले प्रत्यारोपण सेवा सञ्चालन गरेको थियो । स्थान अभावका बीच पनि नेपालमै पहिलो कलेजो प्रत्यारोपण, दैनिक चार जनाको मिर्गौला प्रत्यारोपण र मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको उहाँले बताउनुभयो ।

गत १० वर्षको अवधिमा एक हजारको प्रत्यारोपण गरिएकोमा ९९ प्रतिशत सफलता मिलेको छ । प्रत्यारोपण क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकको सातवटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न सकिने उहाँको भनाइ छ । 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।