चमेलियाको पाठ (सम्पादकीय)

वि.सं. २०६४ सालमा निर्माण सुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएको छ । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवाले यो आयोजनाको औपचारिक रूपमा उद्घाटन गर्नुभयो । एक महिनाअघिदेखि परीक्षण उत्पादन सुरु गरेको यस आयोजनाले अब व्यावसायिक उत्पादन सुरु गरेको छ । सुदूरपश्चिम विकास क्षेत्र र अहिलेको प्रदेश ७ मा पर्ने दार्चुला र बैतडीको सीमामा निर्माण भएको यो आयोजनाको थालनी पनि उहाँ प्रधानमन्त्री भएकै बेला भएको थियो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदनले महँगो आयोजनाका रूपमा उल्लेख गरे पनि विकासमा पछाडि परेको सुदूरपश्चिम क्षेत्रकै सन्तुलित विकासका लागि यो आयोजना सुरु गरिएको थियो । वास्तवमै सुदूरपश्चिम क्षेत्रको अपार जलस्रोत उपयोगमा यो आयोजना कोशेढुङ्गा बनेको छ । 

जलविद्युत् विकासमा चमेलिया जलविद्युत् आयोजनाले सुखद र दुःखद पाठ सिकाएको छ । विभिन्न समस्या, कमजोरी र विवादले गर्दा यो आयोजना सम्पन्न हुन तोकिएको समय अवधिभन्दा दोब्बर समय लाग्यो र लागत पनि दोब्बर भयो । आयोजना सुरु गर्दा आठ अर्ब ५४ करोड रुपियाँ लाग्ने अनुमान गरिएको भए पनि सम्पन्न हुँदा यो बढेर १५ अर्ब ९० करोड रुपियाँ पुग्यो । प्रतिमेगावाट लागत करिब १५ करोड रुपियाँको हिसाब गरिने बेलामा चमेलिया सुरु हुँदाको प्रतिमेगावाट लागत आमप्रचलनभन्दा दोब्बर बढी थियो र सम्पन्न हुँदा तेब्बरभन्दा बढी (५३ करोड रुपियाँ) पुगेको छ । त्यसैले यस आयोजनाले अहिलेसम्मकै महँगो जलविद्युत् आयोजनाको रेकर्ड कायम गरेको छ । डिजाइनमा हुने कमजोरी, विवादलगायतका समस्याले आयोजनालाई कसरी प्रभावित पार्छन् भन्ने यो उदाहरण हो । समयमा निर्माण सम्पन्न नहुँदा बढेको खर्चले चमेलियाकै लागतमा पनि अर्काे ३० मेगावाटभन्दा बढी क्षमताको आयोजना सम्पन्न हुन सक्थ्यो भने तोकिएको समयमा विद्युत् उत्पादन नहुँदा गुमाउनुपरेको आम्दानी वार्षिक डेढ अर्ब रुपियाँभन्दा बढी छ । अर्थात् यसबाट छ वर्षमा नौ अर्ब रुपियाँजति नोक्सानी भयो, जुन अर्काे ३०÷४० मेगावाट क्षमताको आयोजना सम्पन्न गर्न पर्याप्त हुन्थ्यो । यस आयोजनाका केही सकारात्मक पक्ष पनि छन् । आयोजना निर्माण गर्दा दार्चुला र बैतडीमा भौतिक पूर्वाधार विकास हुनाका साथै यही पूर्वाधार प्रयोग गरेर अरू निजी लगानीका आयोजना पनि बने । साढे आठ मेगावाटको नौगाड जलविद्युत् आयोजना सम्पन्न भइसकेको छ भने ८५ मेगावाटको माथिल्लो चमेलिया, १६ मेगावाटको मध्यचमेलिया, ६५ मेगावाटको कलिङ्गाड, २५ मेगावाटको छत्तिगाडलगायतका १९० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् ।
अब चमेलिया जलविद्युत् आयोजनाबाट पाठ सिकेर नयाँ जलविद्युत् आयोजना विकासमा गम्भीर हुनैपर्छ, भूकम्प र नाकाबन्दीदेखि डिजाइन परिवर्तन, ठेकेदार कम्पनीसँगको विवादले आयोजना प्रभावित भयो । भुक्तानी विवादले लामो समय काम रोकियो । यसबाट मुलुकलाई ठूलो क्षति भएको छ । यसबाट आगामी आयोजनालाई कमभन्दा कम विवादित हुने र समयमै सम्पन्न गर्नेतिर योजनाकारको ध्यान जानुपर्छ । अहिले पनि कुलेखानीलगायत धेरै आयोजना यस्तै समस्याबाट ग्रसित छन् । चर्चामा रहेका एक हजार दुई सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना र साढे सात सय मेगावाटको तमोर आयोजना विकासका चरणमा छन् । बढी चर्चामा रहेको र सरकारले पनि प्राथमिकतामा राखेको बूढीगण्डकीलाई सरकारले ‘लगानीयोग्य’ बनाउनकै लागि ९४ अर्ब रुपियाँ लगानी गर्ने भएको छ । बूढीगण्डकीको आधा लागत र समयमा जलाशययुक्त तमोर आयोजना बन्ने प्रारम्भिक अध्ययनले देखाएको छ तर यसको चर्चा कम छ । बूढीगण्डकीमा जग्गा प्राप्ति, पुनर्वासलगायतका कार्यमा एक खर्बजति लगानी लाग्नेछ । यसको तुलनामा कम झमेला भएको जलाशययुक्त तमोर आयोजनाको प्रभावित जनसङ्ख्या र वातावरणीय प्रभाव अत्यन्तै न्यून छ । त्यसैले छिटो सकिने र कम झन्झटिला आयोजना छनोट गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना