• १३ वैशाख २०८१, बिहिबार

कोरियन गाईका बाच्छी चितवनमा अनुसन्धान गरिँदै

blog

कोरियाबाट नेपाल आएकामध्ये राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा रहेका उन्नत जातका गाईका बाच्छी । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, पुस २८ गते । कोरियाबाट नेपाल ल्याइएका उन्नत नस्लको धेरै दूधदिने गाईको बाच्छी चितवन आइपुगेको छ । दूधमा आत्मनिर्भर बनाउन नेपाल सरकारले कोरियाबाट उन्नत जातको गाईका बाच्छी ल्याइएको थियो । 

नेपाल ल्याएको १०१ वटा गाईका बाच्छीमध्ये चार वटा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा यसै हप्ता ल्याइएको थियो । एक वेत (तीन सय दिन) मा नौदेखि दश हजार लिटर दूध दिने गाईका बाच्छीलाई वातावरण अनुसारको स्याहारसुसार गरेर अर्को उत्पादन गर्ने तयारी रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख सागर पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यसै हप्ता यहाँ ल्याइएको छ, ती बाच्छीलाई हुर्काएर इआइए गरी त्यसबाट सन्तान उत्पादन गराउनेछौ ।’ अबको एक वर्षमा इआइए गर्न उपयुक्त हुने उहाँले बताउनुभयो । त्यसपछि ती बाच्छीबाट बहर जन्मेमा पोखरामा पठाउने उहाँले बताउनुभयो ।

बाच्छी नै जन्मेमा यही राखेर थप अनुसन्धान गरी अर्को उत्पादन गर्नेछौँ उहाँले भन्नुभयो, “रामपुरमा हामीले अनुसन्धानका लागि राख्ने, त्यसको वृद्धि विकासमा आएका समस्या प्रगति र पाल्दा लाग्ने खर्चको समेत हामीले अध्ययन गर्नेछौँ ।” ‘यहाँबाट अध्ययन गरेर उत्पादन भएका बहरलाई पोखरामा दिनेछौँ, उहाँले भन्नुभयो, ‘पोखराको कार्यालयले किसानको घरमा पठाउनेछ । हामीले अध्ययन गर्ने हो किसानमा वितरण गर्ने काम पोखराको कार्यालयले गर्नेछ ।’ 

नेपालका लागि यो उन्नत जातको गाई लाभदायक हुन्छ उहाँले भन्नुभयो, ‘कोरिया, क्यानडा, जापान, अमेरिका लगायतका देशमा यही जातका गाई पाल्ने गरिएको छ । यस्तो गाईले एक दिनमा ३० लिटरसम्म दूध दिने गर्छ ।’ किसानको घरमा यो गाई पाल्ने अवस्था आएमा दूधको उत्पादन वृद्धि हुने उहाँले बताउनुभयो । 

अहिले नेपालको वातावरणमा रहन सक्ने नसक्ने, उसलाई कुन अनुपातमा दानापानी खुवाउने, दूध दिँदा अपनाउनु पर्ने सावधानीलगायतका विषयमा अध्ययन गरेर त्यहीअनुसार हामीले सिफारिस गर्ने छौँ उहाँले भन्नुभयो । रामपुर ल्याएको चारवटा गाइका बाच्छीलाई अलग्गै राखेर अनुसन्धान गरिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । 

नेपाल आएकामध्ये चितवनमा चार वटा, पोखरामा नौ वटा, खुमरटारमा तीन वटा, जिरीमा चार वटा राखिएका छन् । अन्य गाईका बाच्छी किसानलाई दिइएको छ । हेफर इन्टरनेशनल नेपाल र हेफर इन्टरनेशनल दक्षिण कोरियाको व्यवस्थापनमा २० वटा उच्च प्रचजनन्का साढे, एक सय वटा बाच्छी, कृत्रिम गर्भाधानका लागि पाँच हजार डोज वीर्य आएको थियो । 

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा कोरियाबाट आएका गाई बाहेक यहाँ २०५ वटा गाई तथा बाच्छाबाच्छीहरु रहेका छन् । ती गाई तथा बाच्छीको अनुसन्धानमा नेक कोलार सिस्टम (गाईको घाँटीमा बाँधिने सेन्सर माला) बाट गरिदैआएको छ । नेक कोलार सिस्टमबाट गाई बिरामी भए नभएको, बहर लाग्नेबेला भए नभएको, गाईको तापक्रम वृद्धि भए नभएको हेर्दैआएको छ ।