वार्ताको वातावरण बनाउन नेपाली काँग्रेस र एमाओवादीबीच छलफल

Nc and ucpnकाठमाडौँ, चैत २५ गते । पछिल्लो राजनीतिक अवस्था र संविधान निर्माणलगायत विषयमा सहमतिको वातावरण बनाउन आज नेपाली काँग्रेस र एकीकृत नेकपा माओवादीका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ । एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले आमहडतालका कार्यक्रम फिर्ता लिएको र यही चैत ३० गते संविधानसभाको बैठक बस्ने भएको सन्दर्भमा दुई दलबीच आज छलफल भएको हो । छलफलमा एमाओवादीले मङ्गलबारको बन्दका क्रममा सरकारले गिरफ्तार गरेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै त्यसपछि मात्रै औपचारिक वार्ता हुने बताएको थियो भने काँग्रेसले घटना र मुद्दा हेरेर रिहाइ गरिने भन्दै वार्तालाई एकैसाथ अघि बढाउन आग्रह गरेको थियो ।

छलफलपछि एमाओवादीका महासचिव कृष्णबहादुर महराले गिरफ्तार भएका मोर्चाका कार्यकर्ताको रिहाइ, घाइतेको उपचार हुनुपर्ने जनाउँदै त्यसपछि वार्ता हुने पत्रकारलाई बताउनुभयो ।

नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले हिंसात्मक गतिविधि र आन्दोलन छाडेर वार्ता र सहमतिमा आउन आफूहरुले आग्रह गरेको जानकारी दिनुभयो । गिरफ्तार भएका कार्यकर्ताको रिहाइका सम्बन्धमा सरकारले आवश्यक काम गर्ने भन्दै संविधानका विवादित विषयमा चाँडै औपचारिक वार्ता गरिने बताउनुभयो ।

छलफलमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, प्रवक्ता बडू, सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल तथा एमाओवादीबाट महासचिव महरा, नेताहरु शक्तिबहादुर बस्नेत, टोपबहादुर रायमाझी र वर्षमान पुनलगायत हुनुहुन्थ्यो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना