• ८ वैशाख २०८१, शनिबार

लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा रामग्राम र पण्डितपुरको अवलोकन

blog

रामग्राम स्तुपा र बुद्धस्थल पण्डितपुरको अवलोकनमा गएको लुम्बिनी विकास कोषको टोली । तस्बिरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल 

भैरहवा, पुस २८ गते । लुम्बिनी विकास कोषका पदाधिकारीसहितको टोलीले बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपा र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेका छन् । कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य तथा परिषद् सदस्यसहितको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको हो ।

गौतमबुद्धको अस्तु धातु रहेको रामग्राम बुद्धमार्गीहरुका लागि पवित्रस्थल रहेकाले यहाँको विकास गर्ने गरी स्थलगत अवलोकन गरिएको उपाध्यक्ष त्रिपाठीले बताउनुभयो । उहाँले बुद्ध भगवानको जीवनसँग जोडिएका महत्वपूर्ण स्थल रामग्राम भएकाले तत्कालीन र दीर्घकालीन रुपमा रामग्रामको विकास गरिने बताउनुभयो । 

उपाध्यक्ष त्रिपाठीले रामग्राममा तत्काल कोषको कार्यालय सञ्चालन गर्न, जग्गाको संरक्षणका लागि तारबार, पर्यटकका लागि खानेपानी, शौचालय र सूचना बोर्डहरु राख्न निर्देशन दिनुभयो । उहाँले लुम्बिनीपछिको महत्वपूर्ण बुद्धस्थलका रुपमा रामग्रामको विकास गर्नुपर्ने बताउनुभयो ।

नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ७ झरही नदीको किनारमा रहेको रामग्रामलाई विश्वका बौद्धमार्गीहरुले पवित्र स्थलका रुपमा पुज्छन् । भगवान् बुद्धको अस्तुधातु राखी निर्माण गरिएको आठ वटा स्तुपामध्ये अहिलेसम्म बाँकी रहेको एक मात्र रामग्राम स्तुपा हो । बौद्धग्रन्थमा सम्राट अशोकले रामग्राममा पनि अस्तु झिकी चौरासी हजार स्तुप बनाउन चाहेको तर त्यसो नगरेको उल्लेख छ ।

यसैगरी, लुम्बिनी विकास कोषको टोलीले रामग्राम नगरपालिका १८ स्थित बौद्धक्षेत्र पण्डितपुरको पनि अवलोकन गरेको छ । पुरातत्व विभागले बौद्धकालीन अवशेषहरु पत्ता लगाएपछि यो क्षेत्रलाई पुरातात्विक स्थलको रुपमा संरक्षण गर्दै आएको छ ।

कोलिय गणराज्यको राजधानी तथा बुद्धको मावलीस्थलका रुपमा पण्डितपुर हुनसक्ने भएकाले यसको पुरातात्विक महत्व उजागर गर्न लुम्बिनी विकास कोषले अवलोकन गरेको कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जानकारी दिनुभयो । 

उहाँले पुरातत्व विभागले उत्खनन गर्दा बुद्धकालीन अवशेषहरु प्रशस्त देखिएकाले यसलाई बुद्धस्थलका रुपमा लुम्बिनी विकास कोषले संरक्षण र विकास गर्ने बताउनुभयो । हाल पण्डितपुर क्षेत्र अतिक्रमित हुँदै गएकाले यसको संरक्षणमा कोषले चासो देखाएको हो ।

रामग्राममा तत्काल केही निर्माणहरु गर्नुपर्ने र कार्यालय समेत सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसको तयारीमा लाग्ने कोषका सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो । रामग्राम स्तुपाको गुरुयोजना समेत बनेको र तत्काल केही आवश्यक पूर्वाधार निर्माण थाल्ने गरी निर्देशन आएको योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो । अवलोकनमा कोषका बोर्ड सदस्य विश्व पौडेल, परिषद् सदस्य सरोज भट्टराई, अर्का परिषद् सदस्य धनराज कँडेललगायतको सहभागिता थियो ।

टोलीले सुनवल ७ तरगौलीस्थित देवदह मध्यमार्गी बौद्ध गुम्बा एवं विहारको अवलोकन गरेको छ । उक्त अवसरमा सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवे, सुनवल वडा नं. ७ का वडाअध्यक्ष नारायणप्रसाद आचार्यले लुम्बिनीसँग जोडेर क्षेत्रको विकास गर्न आग्रह गर्नुभएको थियो ।