एमाले केन्द्रीय कमिटी बैठक सोमबार

CPN Uml लक्की चौधरी काठमाडौँ, मङ्सिर २१ गते । नेकपा (एमाले) को नवौँ महाधिवेशन सम्पन्न भएको पाँच महिना पूरा भइसक्दासमेत स्थायी कमिटी, पोलिटब्युरो गठन, पार्टीको कार्यविभाजन र मनोनित लगायतका काम अझै हुन सकिरहेको छैन । 

यसका लागि पटक–पटक केन्द्रीय कमिटीको बैठक आह्वान हुने गरे पनि तयारी नपुगेको भन्दै बैठक स्थगित हुँदैआएको छ । मङ्सिर २२ गते सोमबार केन्द्रीय कमिटीको बैठक आव्हान गरिएको छ । बैठकमा यी एजेन्डामाथि छलफल भई आवश्यक निर्णय हुने केन्द्रीय कमिटीका सदस्यहरूको विश्वास छ ।
असार १९ देखि २५ सम्म काठमाडौँको भृकुटीमण्डपमा भएको नवौँ महाधिवेशनले १५ पदाधिकारी, १०२ पूर्ण केन्द्रीय सदस्य र ३४ वैकल्पिक सदस्य गरी १५१ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको थियो । तर, विधानबमोजिम गरिने पार्टी जिम्मेवारीको कार्यविभाजन, पाँच प्रतिशत मनोनित तथा पोलिटब्युरो कमिटी गठनको काम हुन नसक्दा स्थायी कमिटी गठन समेत अन्योलमा छ । पोलिटब्युरो सदस्य हुनलाई मापदण्डमै दुईपक्षबीच विवाद रहेको नेताहरूले बताउँदै आएका छन् ।
पार्टीको विधानको धारा ३८ मा पोलिटब्युरो सदस्य हुनका लागि कम्तीमा एक कार्यकाल केन्द्रीय कमिटी सदस्य हुनुपर्ने व्यवस्था छ । तर, त्यसमा पूर्ण सदस्य हुनुपर्ने कि नपर्ने विवाद नेताहरूबीच छ । माधव नेपाल पक्षकाले पूर्ण कार्यकाल केन्द्रीय सदस्य हुनुपर्ने अडान रहँदै आएको छ । त्यस्तै स्थायी कमिटीको गठन सहमतिकै रूपमा हुनुपर्ने माधव नेपाल पक्षको माग छ तर अध्यक्ष केपी ओली पक्षकाले सहमति नभए निर्वाचनबाटै स्थायी कमिटी गठन हुनुपर्ने भनाइ राख्दै आउनुभएको छ ।
त्यस्तै, पूर्ववरिष्ठ नेता नेपाललाई तेस्रो वरियतामा राख्ने अध्यक्ष ओलीको मौखिक प्रस्ताव रहे पनि हालसम्म लिखितरूपमा सहमति बन्न सकेको छैन । यसअघि पदाधिकारीहरू स्वतः स्थायी कमिटीमा जाने परम्परागत मान्यता रहँदैआएको थियो । तर, विधानले त्यस्तो स्पष्ट केही नबोल्ने हुनाले यसपटकको स्थायी कमिटी कुन विधि र प्रक्रियाबाट हुने भन्ने स्पष्ट भइसकेको छैन । नेता नेपाललाई पनि स्थायी कमिटीमा लग्ने नलग्ने दुविधा कायमै छ ।
केन्द्रीय कमिटीको बैठकबारे जिज्ञासामा पूर्वसचिव शंकर पोखरेलले यसअघि तयारी नपुगेकै कारण बैठकहरू स्थगित हुने गरे पनि यसपटक ठोस निर्णय हुनसक्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीको जिम्मेवारीमा कार्यविभाजनको काम हुन नसक्दा केही अप्ठेरा पर्ने गरे पनि खासै समस्या नरहेको उहाँले प्रस्ट्याउनुभयो । पहिलेकै जिम्मेवारीमा रहेकाले भूमिका निर्वाह गरिरहनुभएकाले त्यस्तो समस्या छैन, उहाँले भन्नुभयो ।
पोलिटब्युरो गठन भएपछि स्थायी कमिटी गठनको बाटो खुल्ने बताउँदै नेता पोखरेलले यस बैठकबाटै सम्भवतः मनोनितको कामसमेत टुङ्गिने विश्वास व्यक्त गर्नुभयो । पोलिटब्युरो गठनमा सहमतिको प्रयास हुने भए पनि सहमति बन्ने सम्भावना कमै देखिएको पोखरेलले प्रस्ट्याउनुभयो । नेता नेपालबारेको विज्ञासामा उहाँले भन्नुभयो, “माधव कमरेड आफैँमा सिनियर नेता हुनुहुन्छ, उहाँलाई तल पार्ने काम कसरी हुन्छ ?”
पार्टी सचिव योगेश भट्टराईले अध्यक्ष ओलीकै हातमा सबै जिम्मेवारी कायम रहेकाले उहाँले चाहेमा सबै समस्या समाधान हुने बताउनुभयो । पार्टीको महाधिवेशनपछि गर्नुपर्ने धेरै काम अझ गर्न बाँकी रहेकाले अध्यक्षको सक्रियताले सबै काम सम्भव हुने तर्क गर्नुभयो । पोलिटब्युरो, स्थायी कमिटी, मनोनित गर्नुपर्ने काममा अझै जिम्मेवारीपूर्वक पार्टीभित्र छलफल हुन नसकेको उहाँको आरोप छ ।
केन्द्रीय कमिटीको बैठकमा गर्नुपर्ने बाँकी सबै एजेन्डामाथि गम्भीर छलफल भएर काम अगाडि बढ्ने बताउँदै नेतृत्व सकारात्मक भए सबै विषयमा सहमति बन्ने सचिव भट्टराईले विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रीय कमिटीका सदस्य तथा सभासद् वैजनाथ चौधरीले नेतृत्वको निष्क्रियताका कारण अहिलेसम्म पार्टीको जिम्मेवारी बाँडफाँटको काम हुन नसकेको बताउनुभयो । “कार्यविभाजनअन्तर्गत, अञ्चल, जिल्ला, विभागीय इन्चार्जको जिम्मेवारी तोकिएको छैन, त्यसले पार्टीको काममा केही मात्रामा भए पनि असन्तुलन आउने गरेको छ,” उहाँले भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना