• ६ वैशाख २०८१, बिहिबार

मुख्य उपलब्धिमा सुशासनको दाबी

blog

नवीन शाही

सुर्खेत, पुस २७ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो नेतृत्वमा गठित सरकारले हासिल गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ ।

मङ्गलबार कर्णालीवासीका नाममा सम्बोधन गर्दै उहाँले कर्णालीमा सुशासन कायम गर्नुका साथै छ ‘ब’ कार्यान्वयनमा ल्याइएको बताउनुभएको छ । नयाँ सरकार गठनका लागि एक दिन मात्रै समय बाँकी रहेका बेला मुख्यमन्त्री शाहीले आफूले गरेका काम सार्वजनिक गर्नुभएको हो । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले बुधबार साँझ ५ बजेभित्र सरकारको मुख्यमन्त्रीमा दाबी गर्न समयसीमा तोक्नुभएको छ ।

२०७८ कात्तिक १६ गते शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले आफ्नो कार्यकालमा तीन तहका दुईवटा निर्वाचन सम्पन्न गराउनुपर्ने चुनौतीका बीच ४३५ दिनको अवधिमा अपेक्षित उपलब्धि हासिल गर्न सकिएको बताउनुभयो । छोटो समयमै केही परिवर्तन भएको उहाँको दाबी छ । 

मुख्यमन्त्री शाहीले कर्णालीमा अवरुद्ध विकास पूर्वाधारहरूको निर्माण, छ ‘ब’ कार्यान्वयन, सुशासन र कानुन निर्माण, स्थानीय तहसँगको समन्वयलगायतका क्षेत्रमा महŒवपूर्ण काम गरिएको जनाउनुभयो ।

प्रदेशको विकास र समृद्धिको आधारका रूपमा रहेको छ ‘ब’ (वन, बाटो, बजार, बिजुली, विचार र व्यवस्थापन)मा प्रदेश सरकारले प्राथमिकताका साथ काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली टाइमलाई कार्यान्वयनमा ल्याउन सकिएको छ । हामीले कर्णाली प्रदेशको काम, कारबाही र विकासको मोडेललाई ‘ब्रान्डिङ’ गरेका छौँ । हिजोको ‘नेपाली टाइम’ भन्ने र हरेक क्रियाकलाप निर्धारित समयभन्दा ढिला गरी सुरु गर्ने संस्कार अन्त्य भएको छ ।” 

कर्णालीमा १७ वटा विधेयक र ३२ वटा नीति, कार्यविधि, मापदण्ड तथा निर्देशिका तर्जुमा गरिएको छ । मुख्यमन्त्री शाहीले भन्नुभयो, “कर्णाली प्रदेश निजामती सेवासम्बन्धी विधेयक, प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक सेवाका सर्त र सुविधासम्बन्धी विधेयकलगायत १२ वटा विधेयक तर्जुमा गरी प्रदेश सभामा प्रस्तुत गरिएकोमा पहिले पेस भएका समेत गरी जम्मा १७ वटा विधेयक प्रदेश सभाबाट पारित भएका छन् ।” उहाँले खाद्य अधिकार तथा सम्प्रभुता नियमावलीसहित चारवटा नियमावलीमा समसामयिक संशोधन र ३२ वटा नीति÷कार्यविधि÷मापदण्ड÷निर्देशिका तर्जुमा भएको बताउनुभयो । उहाँले आफ्नो अवधिमा ४४ मन्त्रिपरिषद् बैठकबाट १२६ वटा निर्णय भएको जानकारी दिनुभयो ।

स्थानीय तहका र प्रदेशका ५९० रिक्त पदमा विभिन्न तहका कर्मचारी नियुक्तिका लागि सिफारिस गर्नुका साथै अधिकृत तहका कर्मचारी छनोटका लागि विज्ञापन गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँले जनाउनुभयो । उहाँले आगामी दिनमा जनशक्ति अभावका कारण काम भएन भन्ने समस्या अन्त्य भएको र प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, सरल, सहज, सुलभ र गुणस्तरीय बनाउन प्रदेश स्वास्थ्य सेवा ऐन कार्यान्वयनमा ल्याइएको बताउनुभयो । मुख्यमन्त्री शाहीको कार्यकालमा ‘कर्णाली घोषणापत्र’समेत जारी गरिएको छ । लैङ्गिक हिंसा तथा सामाजिक समावेशीकरणका लागि ऐक्यबद्धता तथा प्रतिबद्धतास्वरूप साझा कर्णाली घोषणापत्र जारी गरिएको हो ।

कर्णालीमा एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधिअन्तर्गत ३९४ जना विद्यार्थीलाई छोरी–बुहारी उच्च शिक्षा, जेहेनदार उच्च शिक्षा, अपाङ्गता भएका, दलित, द्वन्द्वपीडित, शहीदका छोराछोरीलाई छात्रवृत्ति उपलब्ध गराइएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । उहाँले ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’कार्यक्रम सञ्चालन कार्यविधिअन्तर्गत एक सय सामुदायिक विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनुभयो । स्वास्थ्य क्षेत्रको सुधारका लागि कर्णाली प्रदेश कोभिड–१९ आकस्मिक योजना, दूरचिकित्सा सेवा (टेलिमेडिसिन) तथा अनलाइन स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । प्रदेश सरकारको सहयोगबाट स्थानीय तहका पाँच आधारभूत अस्पतालको पूर्वाधार विकास, ७३ सामुदायिक स्वास्थ्य एकाइ तथा २० बर्थिङ सेन्टर सञ्चालनमा आएको जानकारी उहाँले दिनुभयो ।

शैक्षिक सुधारका निम्ति आर्थिक वर्ष २०७८/७९ सम्म प्रदेशभरका सामुदायिक विद्यालयमा थप ३१६ वटा कक्षाकोठा निर्माण भई १२ हजार ६४० विद्यार्थीले पक्की भवनमा अध्ययन गर्ने अवसर पाएको शाहीले बताउनुभयो । १०औँ राष्ट्रिय खेलकुदलाई कर्णालीमा आयोजना गर्न प्रदेश रङ्गशालाको ५० प्रतिशत काम सम्पन्न हुनुका साथै भौतिक पूर्वाधार निर्माणका कार्यहरू भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।