आन्दोलन आजदेखि स्थगित, दुई पक्षीय वार्तामा सातबुँदे मागमा सहमति

रौतहट, चैत २५ गते । चन्द्रपुरमा सेवा केन्द्र विस्तारको निर्णय फिर्ताको माग गर्दै भएको आन्दोलन आजदेखि स्थगित भएको उद्योग वाणिज्य सङ्घ रौतहटले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको दुई पक्षीय वार्ता टोलीले राति १२ बजे सहमति भएकाले आजदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको हो ।

आन्दोलनकारीले आठबुँदे माग राखी वार्तामा गएको थियो । सातबुँदे मागप्रति दुई पक्षबीच लिखितरुपमा सहमति भएको प्रजिअ भुजेलले बताउनुभयो । वार्तामा आन्दोलनको क्रममा घाइते भएका व्यक्तिलाई सरकारी अस्पतालमा उपचार गराउँदा लागेको बिलबमोजिम खर्च उपलब्ध गराउने, घटनामा परी मृत्यु भएका गौर नगरपालिका– १० निवासी रामअसिस ठाकुरलाई सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाउन केन्द्रमा सिफारिस गराउने, निजका परिवारको एक सदस्यलाई स्थानीय तहबाट सीपअनुसारको रोजगारी उपलब्ध गराउने, मृतक परिवारलाई हाल रु पाँच लाख क्षतिपूर्ति सरकारले उपलब्ध गराउने, सदरमुकाम गौरमा मिति चैत १८ गतेदेखि भएको घटनाको यर्थात् छानबिन गरी कारबाही गर्न उच्चस्तरीय छानबिन समिति गठनका लागि गृहमन्त्रालयमा अनुरोध गर्ने, चलाउँदै आएको आन्दोलनका सम्पूर्ण कार्यक्रम बन्द गर्ने र स्थानीयस्तरमा प्रहरीले गराएको क्षतिमा क्षतिपूर्ति दिने सहमति भएको सङ्घका अध्यक्ष कन्थमणि जैसवालले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना