• ८ वैशाख २०८१, शनिबार

तीनवटा भाषाका साधक

blog

गोपाल ‘अश्क’ नेपाली, भोजपुरी र हिन्दी भाषाका सक्रिय साहित्य साधक हुनुहुन्छ । तीनवटै भाषामा समान रूपमा कलम चलाउनु हुने ‘अश्क’का ती भाषामा लेखिएका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । लेखनयात्रा दिनप्रतिदिन अझै सक्रिय बनिरहेको अवस्था छ । साहित्यका प्रायः सबै विधामा समान रूपमा उहाँको कलम चलेको छ । मेहनत, परिश्रम र लगनशीलता उहाँको परिचय हो ।  

साहित्यकार गोपाल ‘अश्क’का बारे ८० जना विशिष्ट साहित्यकारका लेख–रचना, समीक्षा, समालोचना, मन्तव्य, विचार, जीवनीलगायत सामग्री समेटिएको ‘साहित्यकार गोपाल अश्क’ नामक कृति हालसालै बजारमा आएको छ । यस कृतिले साहित्यकार गोपाल ‘अश्क’ को हुनुहुन्छ, कस्तो लेख्नुहुन्छ, पुस्तकहरू के कस्ता छन् र साहित्य संसारमा तिनीहरू कसरी परिचित छन्, त्यो जान्न, बुझ्न र स्थान पत्ता लगाउन सहयोग गर्छ । 

पर्साको एउटा सामान्य गाउँ भेडीयारीमा जन्मेका गोपाल ‘अश्क’ भोजपुरी मातृभाषी स्रष्टा हुनुहुन्छ । उहाँले आमाको काखमा त्यही भाषा सिक्नु भयो । साथीभाइसँग त्यही भाषा बोल्नु भयो । जागिरे बाबुका साथ वीरगञ्ज आउनु भएका अश्कको साहित्य यात्रा यहीँबाट आरम्भ भयो । अर्थात् वीरगञ्जले उहाँलाई अगाडि बढायो । 

उहाँले भोजपुरी भाषाको विकासमा थुप्रै काम गर्नुभयो । यसको प्रचारप्रसारमा दिलोज्यानले खट्नु भयो । उहाँ आफू मात्र खटे्नु भएन, खट्नेहरूको ठूलो जमात नै बनाउनु भयो । आज त्यो बाटोमा हिँड्नेहरूको जमात ठूलो भइसकेको छ । यसो भए पनि त्यो दिनप्रतिदिन बढिरहेको अवस्था छ । छ दशकको उमेरमा हिँडिरहनु भएको उहाँ आज पनि उत्तिकै जोश जाँगर र उमङ्गका साथ लागिरहनु भएको छ । अहम्, विश्रामतिर जाने सोच बनाउनु भएको छैन । 

भोजपुरीको अलावा उहाँ नेपाली र हिन्दी भाषाकासमेत राम्रो साहित्यकार हुनुहुन्छ । नेपाली भाषामा राम्रो कथाकारको छवि बनाउनु भएका ‘अश्क’को नेपाली भाषामै लेखिएको ‘प्रेमान्तर’ महाकाव्य प्रकाशित छ । यो महाकाव्य नेपाली भाषाको प्रथम गजल महाकाव्य हो । यसले उहाँ बहुभाषाका सफल र सक्रिय साहित्यकार रहेको पुष्टि हुन्छ । 

त्यसो त हिजो मात्र हैन, आज पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ । यसर्थ उहाँबाट हाम्रो साहित्यले अझ बढी अपेक्षा गरेको छ ।   

पुस्तकभित्र खण्ड एकको शीर्षक ‘जीवनी तथा व्यक्तित्व’ रहेको छ । डा.विश्वम्भरकुमार शर्माले गोपाल ‘अश्क’को जीवनी, व्यक्तित्व र कृतित्वबारे ३१ पृष्ठ लामो लेख लेख्नुभएको छ । 

यो लेखले गोपाल ‘अश्क’को जीवनी र साहित्य यात्राको समग्र पाटो केलाउन सहयोग पु¥याउँछ । खण्ड दुईको शीर्षक ‘सम्बन्ध र संस्मरण’ रहेको छ । यो शीर्षकसँग जोडिएर छब्बीस व्यक्तित्वले ‘अश्क’बारे लेख्नुभएको छ । 

खण्ड तीनको शीर्षक ‘कुराकानी ः गोपाल अश्कसँग’ रहेको छ । यसमा विभिन्न सञ्चारमाध्यम र पत्रपत्रिकासँग उहाँले गरेका सातवटा कुराकानी समावेश छन् । खण्ड चारको शीर्षक ‘कृतित्व र मूल्याङ्कन’ रहेको छ । यहाँ उहाँ र उहाँका कृतिबारे लेखिएका बाह्र लेख समावेश छन् । खण्ड पाँचको शीर्षक ‘कोण÷प्रतिकोण’ रहेको छ । यसमा दुई जना व्यक्तित्वका उहाँबारेका दृष्टान्त छन् । खण्ड छ को शीर्षक ‘समीक्षा, समालोचना र भूमिका’ रहेको छ । 

यहाँ उहाँका पुस्तकका बारे बाह्र जना विद्वान्ले लेखेका भूमिका, समीक्षा र समालोचना समावेश छन् । अनि खण्ड सातको शीर्षक ‘भोजपुरी साहित्यमा गोपाल अश्क’ छ । यसमा उहाँका भोजपुरी भाषाका कृतिबारे सात व्यक्तित्वद्वारा लिखित लेख छन् । खण्ड आठको शीर्षक 

‘हिन्दी भाषामा गोपाल अश्क’ छ । यहाँ उहाँले हिन्दी भाषामा लेखेका कृतिबारे १३ व्यक्तिका विचार विमर्श छन् । 

यो कृतिभित्र साहित्यकार गोपाल ‘अश्क’को जीवनी, व्यक्तित्व, साहित्ययात्रा र आजसम्म नेपाली, भोजपुरी तथा हिन्दी भाषामा पु¥याएको योगदानका विषयका लेख छन् । प्रमुख कृति, लेखन शैली, प्रवृत्ति र व्यक्तित्वका पाटाबारे लेखिएका लेख पनि छन् । यी लेखमा गोपाल ‘अश्क’को लेखनयात्राका विविध आयाम, परिधि, परिवेश, प्रवृत्ति, चिन्तन विश्वासका उकाली ओराली खोज्ने काम मज्जैले भएको छ । 

यसैले प्रस्तुत पुस्तक उहाँको लेखनीको आजसम्मको मुख्य कडी हो भन्दा फरक पर्दैन । साहित्यकार ‘अश्क’ को साठीऔँ वर्ष प्रवेशको अवसर पारेर प्रकाशित यो कृतिभित्र विभिन्न व्यक्तित्वका लेखरचना समावेश छन् । यी लेखले गोपाल अश्कको साहित्ययात्रा, जीवनका उकाली–ओराली र त्यसो गर्दाखेरि गर्नुभएका अनेक सङ्घर्ष, प्राप्ति तथा यसका लागि गर्नुपरेका मेहनत तथा परिश्रम बुझ्न सहयोग गर्छन् । मध्य तराईको सामान्य गाउँमा जन्मेका ‘अश्क’ ठूलो मेहनत र परिश्रमपछि आजको अवस्थामा आइपुग्नु भएको हो । उहाँभित्रको जाँगर तथा जोश लोभ लाग्दो छ । 

समग्रतामा साहित्यकार गोपाल ‘अश्क’बारे जान्न र बुझ्न खोज्नेका लागि यो कृति अत्यन्तै महत्वपूर्ण छ । यसले उहाँको जीवनयात्रा र उपलब्धि मात्र देखाउँदैन भोलि उहाँद्वारा के अपेक्षा गर्न सकिन्छ र साहित्य यात्रा कसरी अगाडि बढ्ला अनुमान पनि गर्न सकिन्छ । आजका अत्यन्तै सक्रिय, मेहनती, परिश्रमी र उत्साही स्रष्टा गोपाल ‘अश्क’लाई हार्दिक बधाई दीर्घजीवनको शुभकामना ! पुस्तकको सम्पादन नेत्र एटम र विदुर गौतमले गर्नुभएको छ भने तन्नेरी प्रकाशन, काठमाडौँ प्रकाशक रहेको छ । ४४० पृष्ठ सङ्ख्या रहेको पुस्तकको मूल्य भने एक हजार पाँच सय रुपियाँ तोकिएको छ ।