• १६ चैत २०८०, शुक्रबार

धरान उत्सव सुरु

blog

निशा राई

धरान, पुस २१ गते । धरान उपमहानगरपालिकामा धरान स्थापना दिवसको अवसरमा तीनदिने धरान उत्सव सुरु भएको छ । 

बुधवार धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा एक समारोहबीच सुनसरीको प्रतिनिधि सभा सदस्य अशोक राईले धरान दिवसको उद्घाटन गर्नुभएको थियो । प्रतिनिधि सभा सदस्य राईले  धरानको विकासमा स्थानीय, प्रदेश, र सङ्घ सबै सरकारले मिलेर गर्ने बताउनुभयो । निर्वाचन सबैले जितेको हो जिम्मेवारी सबैको हुन्छ औपचारिक रूपमा एक भोट बढी ल्याउनेले जिम्मेवारी बढी पाएको मात्र हो राज्यको सेवामा सबै रहेको उहाँले बताउनुभयो । 

धरानका नगर प्रमुख हर्कराज राईले धरानमा जे जुन पार्टीबाट आए पनि सबै एक भएर धरानको विकासमा लागिपरेको बताउनुभयो । उहाँले यस कुरामा शङ्का नगर्न आग्रह गर्नुहुँदै धराने जनतालाई विश्वास गर्न भन्नुभयो । धरानमा सबै जाति सबै धर्मलाई सम्मान गर्दै आएको धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाले बताउनुभयो । उहाँले धरान १२२ वर्ष अगाडि १९५७ सालमा चन्द्र शमशेरले बस्ती बसाएको बताउनुभयो । 

धरान उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान स्थापना दिवसको रूपमा धरान डे उत्सवको आयोजना गर्दै आएको छ । यो वर्ष धरान स्थापना भएको १२२ औँ वर्ष पुगेको छ । उत्सवको उद्घाटन समारोहमा धरानको सबै वडाबाट विभिन्न सङ्घ संस्था, सबै विद्यालयले पनि उक्त समारोहमा भाग लिएका थिए । सबै सहभागीले धरान डेको ब्यानर बोकेर नगर परिक्रमा गरेका थिए । त्यसै गरेर धरानका विभिन्न जातीय संस्थाहरूको पनि सांस्कृतिक झाँकीसहित सहभागिता थियो । 

धरान उत्सवमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको मेकानिकल तेस्रो वर्षमा अध्ययनरत १३ जना विद्यार्थीले निर्माण गरेको ‘गो कार्ट’ पुराना सामग्रीको प्रयोगबाट १ लाख रुपियाँको लागतमा निर्माण गरिएको ‘गो कार्ट’ का चालक विद्यार्थी मौसम विष्टले बताउनुभयो ।

उहाँका अनुसार ‘गो कार्ट’ पेट्रोलबाट चल्ने र प्रतिलिटर २५ किलोमिटर माइलेज दिने ‘गो कार्ट’ को औसत गति प्रतिघण्टा ५० किलोमिटर रहेको बताउनुभयो । विद्युतीय ‘गोकार्ट’ बनाउने उद्देश्य रहे पनि आर्थिक अभावका कारण पेट्रोलबाट चल्ने निर्माण गरेको बताउनुभयो ।  

उत्सव उद्घाटन समारोहमा धरानका पूर्व नगरप्रमुख तिलक राईलाई सम्मान गरिएको थियो भने सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न सङ्घसंस्था, पत्रकार, गायकहरुलाई पनि सम्मान गरिएको थियो । 

उत्सव उद्घाटन समारोहलाई पूर्व प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, प्रदेश १ का प्रतिनिधि सभा सदस्य रमेशकुमार बस्नेतलगायतले सम्बोधन गर्नुभएको थियो ।