• १३ वैशाख २०८१, बिहिबार

‘पोजिटिभ प्रेसर’ आईसीयू निर्माण

blog

सिराज खान 

नेपालगञ्ज, पुस २१ गते । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आफ्नो सेवा सुविधालाई अत्याधुनिक बनाउँदै लगेको छ। सो अस्पतालले पछिल्लो पटक अत्याधुनिक ‘पोजिटिभ प्रेसर’ आईसीयू कक्ष निर्माण गरी सेवा विस्तार गरेको छ। आईसीयू नहुँदा अस्पतालमा गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्न र अप्रेसन गर्न समस्या थियो। सो अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. निरज भट्टराईले बिरामीलाई थप सेवा सुविधा प्रदान गर्न तत्काललाई चार शय्याको ‘पोजिटिभ प्रेसर’ आईसीयू सञ्चालनमा ल्याइने बताउनुभयो। 

उक्त आईसीयू क्यान्सरका बिरामीका लागि मात्रै प्रयोग गरिने कार्यकारी निर्देशक डा. भट्टराईले बताउनुभयो। उहाँका अनुसार आईसीयू कक्ष निर्माणको सबै काम पूरा भइसकेकाले दक्ष जनशक्ति व्यवस्था गरेर सञ्चालनमा ल्याइनेछ। डा. मनु भट्टराईको नेतृत्वमा सो आईसीयू सञ्चालन हुने अस्पतालले जनाएको छ। 

आईसीयूका लागि कर्मचारीलाई तालिम दिएपश्चात् सञ्चालनमा आउनेछ। अहिले तयार गरिएको आईसीयू सञ्चालनमा आएको १० वर्षसम्मका लागि पर्याप्त हुने अपेक्षा गरिएको छ। सो अस्पतालमा दिनदिनै बिरामीको सङ्ख्या बढ्दै जाँदा दुई जना मेडिकल अधिकृत थप्न पहल भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ।  हाल टाउको, घाँटी, मुटु, पोक्सो, रक्तनलीसम्बन्धी क्यान्सरको उपचारका साथै मेडिकल अङ्कोलोजी, सिटीस्क्यानको माध्यमबाट गरिने बायोप्सी, तनावलगायका अन्य समस्याको उपचार पनि सो अस्पतालमा उपलब्ध रहेको जनाएको छ।