• ६ वैशाख २०८१, बिहिबार

पुरातात्त्विक सम्पदामा पक्की संरचना

blog

नारद कोहार

तौलिहवा, पुस २१ गते । कपिलवस्तुको क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवामा सम्बन्धित निकायको अनुमतिबिना पक्की संरचना निर्माण गरिएको छ। कुनै पनि ऐतिहासिक एवं पुरातात्त्विक क्षेत्रमा संरचना निर्माण गर्दा पुरातत्व विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ। तर लुम्बिनी क्षेत्र विकास कोषले ऐनविपरीत गोटिहवामा भौतिक संरचना निर्माण गर्न थालेको हो।

कोषले गोहिटवास्थित अशोक स्तम्भको पूर्वपट्टि स्थायी संरचना पक्की शौचालय निर्माण अघि बढाएको छ। डेढ साता अघिदेखि संरचना निर्माण भइरहेको छ। शौचालयका लागि ठूलो खाल्डो खनेर पक्की ट्याङ्की निर्माण गरिएको छ। प्राचीन स्मारक तथा पुरातात्त्विक स्थल संरक्षण गर्न बनाइएको प्राचीन स्मारक संरक्षण ऐनविपरीत सो निर्माणकार्य भएको छ। कुनै पनि पुरातात्त्विक स्थलमा विभागको अनुमति वा स्वीकृतिबिना स्थायी संरचना निर्माण गर्न नपाइने पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो। 

आफूहरूलाई गोटिहवामा निर्माण सुरु गरिएको संरचनाबारे केही थाहा नभएको उहाँले बताउनुभयो। गोटिहवामा आउने पर्यटकलाई लक्षित गरी त्यहाँ शौचालय निर्माण गर्न लागिएको कोषका योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो। उहाँले भन्नुभयो, “कोषको पुरातत्त्व शाखाले जियोफिजिक्स सर्वे गरेर पुरातात्त्विक वस्तु नभएका ठाउँमा शौचालय निर्माण अघि बढाइएको छ।” जानीजानी आफ्नो सम्पदा नष्ट नगर्ने उहाँको भनाइ छ। गोटिहवालाई क्रकुछन्द बुद्धको जन्मथलोका रूपमा मानिँदै आएको छ। 

यस क्षेत्रमा ईसापूर्व चौथो शताब्दीसम्म मानव बस्ती रहेको प्रमाण यसै क्षेत्रबाट उत्खनन गरिएका अवशेषबाट प्रमाणित भएको पुरातत्त्वविद्हरू बताउँछन्। प्राचीन स्मारक संरक्षण ऐन–२०१३ को (१२) सजाय (ग)ले कुनै पनि पुरातात्त्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनाधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानि नोक्सानी गरेमा त्यस्तो पुरातात्त्विक वस्तुको बिगोबमोजिमको रकम असुल उपर गरी पाँच हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ।