• ५ वैशाख २०८१, बुधबार

२७ गतेभित्र सुदूरपश्चिम सरकार गठनको आह्वान

blog

फाइल तस्बिर

प्रकाशविक्रम शाह 

धनगढी, पुस २० गते । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाका अनुसार प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो । 

संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले उपधारा (२) अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्छ । यो प्रदेशमा १९ सिट जितेको नेपाली कांग्रेस सबभन्दा ठूलो पार्टी बनेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) को ११, नेकपा (एमाले) को १०, नागरिक उन्मुक्तिको ७, नेकपा (एकीकृत समाजवादी) को ४, राप्रपा १ र स्वतन्त्र १ प्रदेश सभा सदस्य छन् ।

सङ्घीय सरकारमा समर्थन गरेको नागरिक उन्मुक्तिले प्रदेशमा पनि सोहीअनुसारको बाटोमा गएमा एमाले, माओवादी र नागरिक उन्मुक्तिको सरकार बन्ने निश्चित छ ।

तर उन्मुक्तिले जुन पक्ष मुख्यमन्त्री आफ्नो दललाई दिन सहमत हुन्छ उतै मिल्ने रणनीति लिएको छ । उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आफूहरू सरकारमा नजाने तर मुख्यमन्त्रीमा दाबी रहने बताउँदै आउनुभएको छ ।