• ५ वैशाख २०८१, बुधबार

समन्वय नहुँदा रोकिएन तस्करी

blog

नवराज कट्टेल

विराटनगर, पुस २० गते । भारतबाट एउटा सेतो पिकअपमा करिब दस लाख मूल्य बराबरको कपडा भित्र्याइएको सूचना पाएपछि विराटनगर भन्सार कार्यालयले मङ्गलबार बिहान उक्त गाडीको पिछा ग-यो । भन्सारको गस्ती टोली खटिएको सूचना पाएपछि तस्करले फरक बाटोबाट गाडी मोडे । भन्सार गस्ती टोलीको केही लागेन । 

विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाका अनुसार ९३५० नम्बरको सेतो पिकअप भेन अन्ततः विराटनगरको कन्चनबारी हुँदै सुनसरीतर्फ लाग्यो । त्यस बीचमा भन्सारको गस्ती टोलीले नेपाल प्रहरीसँग सहयोग माग्यो तर सहयोग पाएन । “इलाका प्रहरी कार्यालय रानी र प्रहरी प्रमुखलाई फोन गर्दा पनि सम्पर्क हुन सकेन,” उहाँले भन्नुभयो । 

विराटनगरबाट एक गाडी कपडा बोकेर सुनसरीतर्फ हानिएको पिकअप भ्यानलाई सुनसरीमा पक्राउ गर्न सकिन्छ भनेर प्रयत्नसमेत गरिएको थियो । तर, भन्सार गस्तीको टोलीले पिछा गरेको सूचना पाएपछि कारोबारीले भित्री गाउँतर्फ मोडेको आशङ्का गरिएको छ । 

भन्सार प्रमुख सापकोटाले सीमा क्षेत्रबाट हुने तस्करीको मोडल पछिल्ला दिनमा फेरिएको दाबी गर्नुभयो । मोरङमा सशस्त्र र नेपाल प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरेर अवैध कारोबारीसँग सेटिङ मिलाएर रकम असुल्दै आएको उहाँको आरोप छ । 

मोरङको टङ्कीसिनबारी स्थित सशस्त्र प्रहरीको ३ नम्बर गणका प्रहरी उपरीक्षक राजकुमार लामिछानेले मङ्गलबार तस्करी भएर आएको गाडीको संयुक्त टोलीले पिछा गरेको दाबी गर्नुभयो । अवैध चोरी निकासी र पैठारीमा भइरहेको बढोत्तरीलाई नियन्त्रण गर्न मोरङका सबै सीमा सुरक्षापोष्टलाई सक्रिय बनाएको उहाँको भनाइ थियो । तर, मोरङको ६३ किलोमिटर खुला सिमानाकाबाट भइरहेको तस्करीमा संस्थागत संलग्नता भएको भन्दै विराटनगर भन्सार कार्यालयले बारम्बार गुनासो दोहोर्‍याउँदै आएको छ । 

असुली प्रगति प्रभावित हुनुका धेरै कारणमध्ये भारतको मिरगञ्ज पुल क्षतिग्रस्त भएपछि रि–रुट भन्टाबारी आयात–निर्यातसँगै त्यसको आडमा बढेको तस्करीसमेतलाई मानिएको छ । भारतले नयाँ बनाएको पुल सञ्चालनमा ल्याएपछि अहिलेको प्रगतिमा सुधार आउन सक्ने भन्सार कार्यालयको बुझाइ छ । तर, खुला सीमा क्षेत्रबाट भइरहेको तस्करी नियन्त्रणमा सामूहिक योगदान नभए भन्सार राजस्व असुली सधैँ प्रभावित हुने प्रमुख भन्सार अधिकृत सापकोटाको बुझाइ छ । 

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा ६०.९२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । लक्ष्यको ३९ दशमलव ८ प्रतिशत कम राजस्व असुलेको भन्सारको मङ्सिरमा राजस्वको ग्राफ झन् घटेको छ । मङ्सिरमा ४७ दशमलव ३५ प्रतिशत मात्रै राजस्व असुली भएको हो । यो चालू आर्थिक वर्षको सबै भन्दा कम राजस्व हो । चालू आर्थिक वर्षको साउनमा लक्ष्यको ८०.९० प्रतिशत, भदौ ६५.२३ प्रतिशत, असोज ५५.१३ प्रतिशत, कात्तिक ६१.४८ प्रतिशत मात्रै राजस्व असुली भएको जनाएको छ ।