• १२ वैशाख २०८१, बुधबार

विकास खर्च बढाउन आग्रह

blog

काठमाडौँ, पुस २० गते । नेपाल उद्योग परिसङ्घले भौतिक पूर्वाधारका क्षेत्रमा हुने खर्च विस्तार गर्न आग्रह गरेको छ । परिसङ्घको टोलीले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेर पूर्वाधार क्षेत्रमा व्यापक लगानी बढाउन आवश्यक रहेको जनाएको हो । 

भेटका क्रममा मन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि समस्याको समाधान गर्दै अगाडि बढ्ने बताउनुभयो । “जहाँ समस्या छन् त्यसको समाधान गर्ने, जहाँ कमजोरी छन् त्यसलाई सच्चाउने,” उहाँले भन्नुभयो, “जहाँ छुट दिनै नसकिने छ त्यहाँ हस्तक्षेप गर्ने प्रक्रियामा अगाडि बढ्नेछाैँ ।”

परिसङ्घ अध्यक्ष विष्णु अग्रवालले पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दीको अवस्था आएको दाबी गर्नुभयो । निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानी दिन अर्थ मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन एवं बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिन पनि उहाँले सुझाव दिनुभयो । 

परिसङ्घले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता सङ्कट तथा उच्च ब्याजदर) सुधार, औद्योगिक प्रवद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ ।