• १६ चैत २०८०, शुक्रबार

चिसो बढेसँगै बिरामी पनि बढ्दै

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, पुस २० गते । चिसो बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ । अत्यधिक चिसो बढ्दा वृद्धवृद्धा, बालबालिका तथा सुत्केरी महिला बिरामी पर्न थालेका छन् । चिसो बढेसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या पनि बढेको सिन्धुली अस्पतालले जनाएको छ ।

अस्पतालका व्यवस्थापक विमल श्रेष्ठका अनुसार केही दिनअघिसम्म उपचारका लागि दैनिक सरदर १५० जना बिरामी आउने गरेको अहिले तीन सय जनाभन्दा बढी पुगेको छ । रुघाखोकी, हाडजोर्नी, बाथ, हातखुट्टा दुख्नेजस्ता समस्या भएका बिरामी बढी आउन थालेको उहाँले जानकारी दिनुभयो ।

चिकित्सकले बिरामीलाई उपचारसँगै चिसोबाट बच्नका लागि तातो झोल पदार्थ सेवन गर्न र न्यानोमा बस्न सल्लाह दिँदै आएको उहाँको भनाइ छ । चिसोले बालबालिकामा निमोनिया, ज्वोरो, खोकी, वान्ता हुने र सुत्केरी र वृद्धवृद्धामा जिउ सुनिने, ढाड–कम्मर दुख्नेजस्ता समस्या देखा पर्न थालेको अस्पतालले जनाएको छ ।