• १३ वैशाख २०८१, बिहिबार

प्रदेश सभामुखको निर्वाचन पुस २९ गते

blog

मकवानपुर समाचारदाता 

हेटौँडा, पुस २० गते । बागमती प्रदेशको प्रदेश सभाको दोस्रो कार्यकालका लागि प्रदेश सभामुखको निर्वाचन यही पुस २९ गते हेटौँडास्थित प्रदेश सभा हलमा हुने भएको छ ।

नेपालको संविधानले प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्रमा प्रदेश सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेअनुसार प्रदेश सभा सचिवालयले यही पुस २८ गते प्रदेश सभामुखका लागि मनोनयन दर्ताको मिति तय गरेको छ । 

त्यसैगरी २९ गते निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार बिहान ११ बजेबाट निर्वाचन प्रक्रिया सुरु गर्ने गरी कार्यक्रम तालिका बनाइएको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रदेश सभामुखका लागि एउटा मात्र प्रस्ताव परेमा प्रस्तावक र समर्थकले बोलिसकेपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ तर प्रदेश सभामुखमा एकभन्दा बढी प्रस्ताव दर्ता भएमा दर्ता क्रमअनुसार प्रदेश सभा बैठकमा प्रस्तावक सदस्यहरूले प्रदेश सभामा प्रस्ताव गर्ने र समर्थक सदस्यहरूले समर्थन गर्ने क्रम सकिएपछि प्रस्तावमाथि बैठकमा छलफल गर्ने प्रदेश सभा नियमावलीमा व्यवस्था रहेको छ । 

छलफलपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन् । एकभन्दा बढी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा जुन प्रस्ताव प्रदेश सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन्छ सो प्रस्तावमा प्रस्तावित सदस्य प्रदेश सभामुख पदमा निर्वाचित भएको मानिनेछ र बाँकी प्रस्तावलाई निर्णयार्थ प्रदेश सभाको बैठकमा प्रस्तुत गरिने छैन । 

प्रदेश सभाको सोमबार बसेको बैठकमा प्रदेश सभा बैठकको अध्यक्षता गर्नुभएको ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेश सभामुखको निर्वाचन मिति पुस २९ गते बिहान ११ बजेका लागि तोक्नुभएको थियो । साथै प्रदेश सभामुखको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रदेश सभाका सचिव खड्कालाई निर्देशन दिनुभएको थियो ।

यसअघि सोमबार प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले प्रदेश सभामुखको निर्वाचन पुस २९ गते गर्ने सहमति गरेको थियो ।