• १६ चैत २०८०, शुक्रबार

शीतलहरले जनजीवन थप कष्टकर

blog

मधेश प्रदेश ब्युरो

जनकपुरधाम, पुस २० गते । पछिल्लो चार दिनदेखि मधेश प्रदेशका जिल्लामा शीतलहरसँगै बढेको चिसोले जनजीवन थप कष्टकर बनेको छ। प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा शीतलहरसँगै पश्चिमी हावाले जनजीवन थप कष्टकर बनेको हो।

‘आगो ताप्न दाउरा र जीउमा न्यानो लुगा छैन’ 

लहान समाचारदाता जीवछ यादवका अनुसार विपन्न दलित समुदाय आगो ताप्न दाउरा र जीउमा न्यानो लुगा नहुँदा समस्यामा परेका छन्। लहान नगरपालिका–१ र २ का मुसहर समुदायका वृद्धवृद्धा र बालबालिकालाई शीतलहर छल्न प्रत्येक वर्ष निकै सकस हुने गर्छ। गेना सदायले आफूलाई चिसो कटाउन सधै गाह्रो हुने गरेको बताउनुभयो। उहाँले थप्नुभयो, “दिनहुँ मजदुरी गरेर दाल चामल खरिद गर्ने हामीले कसरी खाने ? मजदुरी, ठेला र रिक्सा चलाउन पनि समस्या, काम नगरे के खाने ? शीतलहर छल्न किसानसँग मागेर ल्याएको परालको आगो धेरैबेर नटिक्ने र जीउमा मोटो न्यानो लुगा नहुँदा समस्यामा परेकै हो।” 

विपन्न दलित समुदायले प्रत्येक वर्ष बाढी र शीतलहरबाट पीडितको समस्या समाधानका लागि यकिन तथ्याङ्कसमेत राखिएको छैन। दलित अभियानकर्मी विनोद विसुङ्खेले बाढी र शीतलहर आउनुभन्दा अघि नै पीडितका समस्या तीनै तहको सरकारले समाधान गर्ने प्रयास नगर्नु चिन्ताको विषय भएको बताउनुभयो। 

नगरपालिकाका २४ वटै वडामा विपन्न दलितको सङ्ख्या उल्लेखनीय छ। बाढी र शीतलहरको समयमा जोखिममा पर्ने परिवारहरूको यकिन तथ्याङ्क सङ्कलन गरी दीर्घकालीन रूपमा समस्या समाधान गर्न नगरपालिकाले गृहकार्य थालिसकेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो। 

उहाँले शीतलहरबाट समस्यामा परेका समुदायलाई राहत वितरण गरिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “तत्कालै सशस्त्र बेस क्याम्प लहानसँग सहकार्य गरी एक चरणमा प्रभावित ठाउँहरूमा दाउरा वितरण गरिएको छ।” सामुदायिक विद्यालयमा ९० प्रतिशत विपन्न र दलित समुदायका बालबालिका पढ्ने गरेकाले शीतलहर एक्कासि बढेपछि विद्यार्थी ह्वात्तै घटेको लहान–१८ स्थित राजदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक उद्धव हमालले जानकारी गराउनुभयो। 

स्थानीय तहका विद्यालयमा बिदा 

ढल्केबर समाचारदाता विजयकुमार साहका अनुसार तराई मधेशको जिल्लामा सोमबार बिहानदेखि बढ्दै गएको चिसो र शीतलहरका कारण धनुषाको छवटा स्थानीय तहले विद्यालय बिदा दिएका छन्। जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, धनुषाधाम, सबैला र कमला नगरपालिका, मुखियापट्टी मुसहरनिया र औरही गाउँपालिकाले बिदा दिएका हुन्। बालबालिकाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयको वर्षे र हिउँदे बिदाबाट कट्टा हुने गरी पुस २७ गतेसम्मलाई बिदा दिएको धनुषाधाम नगरपालिकाका नगरप्रमुख बालेश्वर मण्डलले बताउनुभयो। 

जनकपुरधाम उपमहानगरपालिकाले मङ्गलबारदेखि बिहीबारसम्मका लागि बिदा दिएको छ। सबैला, कमला, औरही र मुखियापट्टी मुसहरनिया पालिकाले आउँदो शनिबारसम्मका लागि बिदा दिएका छन्। जिल्ला शिक्षा समन्वय एकाइ समिति धनुषाका प्रमुख युक्तप्रसाद शर्माले चिसो र शीतलहर बढेको र बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न थालेपछि बिदा दिएको बताउनुभयो। चिसोका कारण दूधे बालक र वृद्धवृद्धा बढी प्रभावित भएका छन्। चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतका बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ। 

सेवाग्राही पातलिए

महोत्तरी समाचारदाता नागेन्द्र कर्णका अनुसार चिसोसँगै महोत्तरी जिल्लामा सरकारी विद्यालयहरू बन्द हुन थालेका छन् जिल्लामा रहेको १० नगरपालिका र पाँच गाउँपालिकामध्ये अधिकांश पालिकाले चिसो बढेसँगै विद्यालयमा बिदा गरेका छन्। जिल्लाको मनरासिस्वा, बलवा, जलेश्वर, भङ्गहा, लोहारपट्टी, औरही, रामगोपालपुर नगरपालिका तथा सोनमा, सम्सी तथा पिपरा गाउँपालिकाले शीतलहर बढेपछि विद्यालयमा बिदाको घोषणा गरिसकेका छन्। 

पालिकाहरूले चार दिनदेखि छ दिनसम्म अहिले विद्यालय बन्द गरेका छन् भने शीतलहरको अवस्था हेरेर थप बिदा दिन सकिने सूचनामार्फत जनाइएको छ। जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले शीतलहरबाट बालबालिका र वृद्धवृद्धालाई जोगाउन जरुरी भएको बताउनुभयो। हरेक वडामा आगो बाल्नका लागि दाउराको व्यवस्था गरेको जानकारी दिनुभयो। सामुदायिक विद्यालयहरूमा बिदा दिइए पनि संस्थागत विद्यालयहरूमा भने पठनपाठन नियमित छ। 

शीतलहरको कारणले कार्यालयहरूमा सेवाग्राही पनि घटेका छन्। मालपोत कार्यालय महोत्तरीमा लेखनदासको कामकाज गर्दै आउनुभएका लेखनदास अर्पणकुमार कर्णले सेवाग्राहीको चाप कार्यालयमा घटेको जानकारी दिनुभयो। उहाँले कार्यालयका कर्मचारीहरू पनि काम नभएको बेला आगो तापेर बस्ने गरेको बताउनुभयो। 

प्रादेशिक अस्पताल जलेश्वरको इमरजेन्सीमा खटिनुभएका मेडिकल अधिकृत डा.सन्तोषकुमार यादवले चिसो र शीतलहरले वृद्धवृद्धा र बालबालबालिकामा रुघाखोकी र निमोनियाको समस्या देखिएको बताउनुहुँदै चिसोको बिरामीहरू बढेको बताउनुभयो।