• १६ चैत २०८०, शुक्रबार

जीर्ण पुलमा ठूला साधनको जाम

blog

सर्लाही समाचारदाता

सर्लाही, पुस २० गते । पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लखन्देही पुलमा हरेक साँझ गाडीको जाम लाग्दा यात्रुले सास्ती पाएका छन्। 

उखु बोकेका टायरगाढा, ट्याक्टरलगायतका सवारीका कारण पुलमा जाम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ। पुल अत्याधिक जीर्ण रहेको र उखु बोकेका गाडी बिस्तारै पास हुनुपर्ने भएकाले पुलमा जाम बढ्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक ईश्वर कार्कीले बताउनुभयो। लखन्देही पुलमा अरु समयमा पनि प्रायः सवारीको जाम हुने गरेको छ। ठूलाखाले सवारी एकतर्फी रूपमा पास हुने उक्त पुलमा साँझको समयमा काठमाडौँ जाने रात्रि बसहरूको जाम भइरहने गर्छ। 

केही दिनदेखि हरिवनको चिनी मिल चलेपछि उखु बोकेका सवारी धेरै गुड्न थालेका छन्। राजमार्ग र पुलहरूमा जाम बढ्न थालेको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभएको छ। त्यसैगरी पूर्व–पश्चिम राजमार्गस्थित जीर्ण अवस्थामै रहेको चापिनी खोलाको पुल भने केही साताअघि मर्मत भएपछि अहिले जाम कम हुन थालेको छ। लखन्देही पुलमा मर्मतको काम नहुँदा खाल्डाखुल्डीका कारण सवारी पास हुन समस्या भइरहेको चालकहरूले बताएका छन्। त्यस्तै केही साताअघि मर्मत गरिएको सर्लाही खण्डको पूर्व–पश्चिम राजमार्गमा पुनः खाल्डाखुल्टी पर्न थालिसकेको छ।