• १२ वैशाख २०८१, बुधबार

लुक्ला क्षेत्रमा माइनस दुई

blog

सन्तोष राउत

सोलुखुम्बु, पुस २० गते । केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन्।

शुक्रबारबाट नाम्चेसहितका क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो अत्यधिक बढेको लुक्लाका तोयाकुमार श्रेष्ठले जानकारी दिनुभयो। चिसोका कारण त्यहाँका नागरिकहरू आगो तापेर बसेका छन् भने घरबाहिरको काम गर्नसमेत कठिनाइ भएको बताइएको छ।

चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी प्रभावित बनाएको छ। लुक्लाको न्यूनतम तापक्रम माइनस १.६ डिग्री सेल्सियसभन्दा तल झरेको हावापानी मापन केन्द्र लुक्लाले जनाएको छ। लुक्लाभन्दा माथिल्लो क्षेत्रको तापक्रम भने माइनस दुईभन्दा कम रहेको बताइएको छ। तापक्रम घटेसँगै पानी जम्न थालेकाले दैनिकी कष्टकर बनेको हो।

खुम्बु क्षेत्रसहित सोलुदूधकुण्ड नगरपालिकाका अधिकांश वडामा केही दिनयता मौसममा खराबी भएपछि स्थानीय बासिन्दा तथा चौपाया प्रभावित भएका छन्। सदरमुकाम सल्लेरीबाट देखिने तामाखानीको पिकेडाँडा, टाक्सिन्दु, बेनी, जुभिङलगायत आधा दर्जन गाविससहित आसपासका डाँडामा सेताम्मे तुसारो परेको छ। चिसो बढेलगत्तै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप बढेको अस्पतालले जनाएको छ। चिसोका कारण हुने निमोनिया, रुघाखोकी, टाइफाइड, ज्वरोका बिरामीको सङ्ख्या बढेको हो। 

चिसोमा बिरामी हुनबाट बच्नका लागि न्यानो कपडा लगाउने तथा खानपानमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ। बाक्लो कुहिरोसमेत लाग्न थालेपछि जिल्लाको माथिल्लो तथा तल्लो क्षेत्रमा अत्याधिक चिसो बढेको हो। अहिले सदरमुकाम सल्लेरी र आसपासका स्थानीय बासिन्दालाई चिसोले घर बाहिर निस्किन समस्या भएको पाइएको छ। 

ओखलढुङ्गा समाचारदाताका अनुसार ओखलढुङ्गा जिल्लाको माथिल्लो भेगमा तुसारोले जनजीवन कष्टकर बनाएको छ। केही दिन यता जिल्लाको माथिल्लो भेगमा बाक्लो तुसारो पर्नुका साथै चिसो बढेको सिद्धिचरण नगरपालिका–६, जन्तरखानी ठाडेका हरिकुमार मगरले जानकारी दिनुभयो। 

तुसारोका कारण घाँस दाउरा तथा दैनिक काम गर्न समस्या भएको मगरले बताउनुभयो। बालबालिका तथा ज्येष्ठ नागरिकलाई अझ बढी समस्या भएको उहाँको भनाइ छ। विद्यालयहरूमा पठन पाठनमा समेत समस्या आएको ग्रेस एकेडेमी बोर्डिङका सञ्चालकसमेत रहनुभएका मगरको भनाइ छ। जन्तरखानी, धाप, सिँगाने, झाप्रे, पात्ले, खिजिदेम्बाको माथिल्लो भेगमा तुसारो पर्नुका साथै चिसो अत्याधिक बढेको छ। धारा तथा ट्याङ्कीको पानीसमेत जम्न थालेको स्थानीयको भनाइ छ। हिउँ पर्नुभन्दा पहिले जिल्लाको उच्च भेगमा तुसारो पर्ने गर्छ।