• १३ वैशाख २०८१, बिहिबार

उपरथी शाही सैनिक नियन्त्रणमा

blog

काठमाडौँ, पुस २० गते । नेपाली सेनाले उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणको नियन्त्रणमा लिएको छ। सैनिक निरीक्षण निर्देशनालयका निरीक्षाधिकृत रहनुभएका शाही अवकाशमा जानुपूर्व बिदामा रहनुभएको थियो। उपरथी शाहीमाथि आर्थिक अनियमितता गरेको आरोपमा सैनिक मुख्यालयले अनुसन्धानका क्रममा जङ्गी अड्डास्थित सैनिक प्रहरी गणमा राखेको छ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले आर्थिक सुशासनका विषयमा शाहीमाथि छानबिन भएकाले सैनिक मुख्यालयभित्र नै रहने गरी जङ्गी अड्डाले निर्देशन दिएको जानकारी दिनुभयो। 

शाहीलाई गणभन्दा बाहिर निस्कन रोक लगाइएको छ। सेनामा भर्ना हुँदा पेस भएका कागजपत्रका आधारमा शाही पुस २० गते बुधबार अनिवार्य अवकाश पाउँदै हुनुहुन्थ्यो।

अवकाशपूर्व १५ दिनअघि बिदा बस्ने सेनाको चलनअनुसार अवकाश बिदामा रहनुभएका शाहीले आफ्नो पदावधि थप एक वर्ष बाँकी रहेको दाबी गर्दै सैनिक मुख्यालय जङ्गी अड्डा र रक्षा मन्त्रालयविरुद्ध पुस ७ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। शाहीको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि पुनः जङ्गी अड्डा फर्कन तयारीमा रहेका बेला शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको हो। नेपाली सेनाले अदालतको आदेश र शाहीलाई नियन्त्रणमा लिएको विषय फरक रहेको जनाएको छ।

सैनिक आचरणविपरीतका उजुरीको छानबिन नहुन्जेल उहाँलाई बाहिर निस्कन नपाउने गरी नियन्त्रणमा राख्ने जङ्गी अड्डाले जनाएको छ। तत्कालीन मध्यकमान्ड हेडक्वाटर सुर्खेतको कमान्ड सेनापति रहेका बेला शाहीमाथि आर्थिक हिनामिना गरेको उजुरी सैनिक मुख्यालयमा पुगेको छ। 

शाहीमाथि लागेको आरोपको सत्यतथ्य जाँचबुझ गर्न सैनिक मुख्यालय जङ्गी अड्डाले कोर्ट अफ इन्क्वायरी (सैनिक अदालत) गठन गरी छानबिनको प्रक्रिया अघि बढाउने तयारी भइरहेको सैनिक उच्च स्रोतले जनाएको छ।