• ८ वैशाख २०८१, शनिबार

बलात्कार घटना लुकाउन खोज्ने पञ्चहरुलाई कैद सजाय

blog

सप्तरी जिल्ला अदालत

ललिता साह

वोदेवसाईन  (सप्तरी),  पुस १८ गते ।  सप्तरी जिल्ला डाक्नेश्वोरी नगरपालिका वडा  नम्बर  ७ मा तीन वर्षअघि भएको संगीता मण्डलको घटनामा सप्तरी जिल्ला अदालतले पञ्चहरूलाई कैद सजायसहितको फैसला गरेको छ । 

सामूहिक बलात्कारपछि पीडितको इज्जतभन्दा गाउँको इज्जत ठूलो भन्दै घटना मिलाउन खोज्ने र प्रहरीमा जाहेरी दिए सामाजिक बहिष्कार गर्ने चेतावनी दिनेलाई पनि कैद सजायँ भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले कैद सजायको फैसला गरेको अदालतले जनाएको छ। 

२०७७ भदौ २९ गते नाबालिकलाई आफ्नै खेतमा घाँस काट्न गएको अवस्थामा स्थानीय चारजनाबाट सामूहिक बलात्कार भएको खुलासा भएको थियो । 

पीडितले न्यायका लागि प्रहरीमा जाने निधो गरेपछि पीडित संगीता र उहाँको आमालाई  प्रहरीमा जाहेरी दिए सामाजिक बहिष्कार गर्ने भन्दै गाउँकै पञ्चहरुले चेतावानी दिएका थिए । 

कानुनी प्रक्रिया सुरु गर्न नै रोक लगाएपछि  घटनाको दोस्रो दिन २०७७ भदौ ३० गते संगीताले आत्महत्या गरिन् ।

बलात्कारजस्तो घटना मिलाउने आवाज मिडिया सम्मै  उठेपछि सरकारले कानुन ल्याएर घटना मिलाउने पञ्चहरूलाई समेत दण्डसजायको व्यवस्था गरेपछि यस्तो सजायँ भएको हो । 

सप्तरी जिल्ला अदालतबाट सोमबार पहिलोपटक पञ्चहरूलाई कैद सजायको फैसला भएको हो। 

सोही घटनामा वारेन्टपछि अदालतमा हाजिर भएका धर्मदेव मण्डललाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने ठहर गरिएको छ। 

अर्का फरार विष्णु मण्डलको हकमा पक्राउ पर्नासाथ पेशी तोकी फैसला गर्ने गरी मुद्दा मुल्तबीमा राखेको निर्णय बारे जिल्ला अदालत सप्तरीका श्रेस्तेदार कुमार मास्केले जानकारी दिनुभयो । 

सजाय सुनाएकाहरूको नजिकका नातेदार  रहेका सोही ठाउँका शत्रुघन मण्डल र उजितलाल मण्डललाई वर्ष दिन कैद र २५ हजार क्षतिपूर्ती वापतको रकम भराउने फैसला सुनाएको छ । 

पञ्चायतमा सहभागी सत्यनारायण मण्डल, बासुदेब मण्डल, जयकान्त मण्डल, झमेली मण्डल, बेचन मण्डल, देब मण्डल, बिन्देश्वर मण्डल र बंशराज मण्डल समेतबाट जनही २० हजार जरिवाना भराई पीडित परिवारलाई क्षतिपूर्तीवापत दिइनेछ । 

सामूहिक बलात्कारका मुख्य आरोपित दुई जनालाई कसुरदार ठहर गरी सजाय निर्धारणका लागि पुस २८ गतेको मिति तय गरिएको छ। अदालतले दिएको जानकारी अनुसार, घटनाका मुख्य कसुरदार ठड्याएका दुबै जनालाई बालसुधार गृहमा राखिएको छ ।