• १३ वैशाख २०८१, बिहिबार

माग गरेकै दिन पीडितलाई राहत रकम

blog

नगर प्रमुख विष्णुकुमार भाम नगरको कामको सम्पादनसम्बन्धी धारणा राख्नुहुँदै । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, पुस १९गते । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं– ७ का कृष्णप्रसाद बोहराले नगरपालिकाबाट आफ्नी आमाको उपचारका लागि राहात स्वरुप उपचार खर्च पाउनु भयो ।

आमाको उपचारमा भएको खर्चको बिल भरपाइका आधारमा निवेदन दिएको दिनै उहाँले नगरपालिकाबाट राहत रकम पाउनुभएको हो । 

‘‘दुई वर्ष अगाडि पनि भाइको उपचार गर्दा एक लाखको बिल भरपाइ पेश गरेको थिएँ तर सात दिन महिना धाएर दुई हजार सहयोग पाएको थिएँ’’ उहाँले भन्नुभयो, ‘‘अहिले बिल पेश गरेको दिनमै रकम पाइन थालेको रहेछ, बिल अनुसारको रकम नपाए पनि पाउने रकम सहजै पाउँदा सजिलो भयो ।’’

नगरपालिकाले विपन्न नागरिकको उपचारमा गरिने सहयोग रकम निवेदन दिएकै दिन बैंक खातामार्फत उपलब्ध गराउन थालेको हो । नगरपालिकाले जिल्लाभन्दा बाहिर उपचार गराएका पालिकाभित्रका विपन्न परिवारका सदस्यलाई बिरामीको उपचारमा खर्च भएको बिलका आधारमा केही रकम राहत स्वरुप निवेदन दिएकै दिन उपलब्ध गराइएको नगर प्रमुख विष्णुकुमार भामले जानकारी दिनुभयो ।

‘‘विपन्न परिवारका सदस्यले बिरामीको उपचार बापत खर्च गरेको विल र कागजात हरु सबै आएको खण्डमा एकै दिनमा बैंक खातामार्फत रकम भुक्तानी दिन थालिएको छ ।’’ उहाँले भन्नुभयो, ‘‘विपन्न परिवारले बिरामीको उपचारका लागि जग्गा जमिन धितो राखेर ऋण निकालेका हुन्छन्, सहजताका लागि नगरपालिकाले छिटो सम्बोधन हुने गरी मैले यो व्यवस्थालाई कार्यान्वयनमा ल्याइएको हो ।’’

नगरपालिकाका लेखा प्रमुख जगतजंग रावलले चालु आर्थिक वर्षका विपन्न परिवारका सदस्यलाई औषधि खर्चवापत २७ लाख विनियोजन भएको र हालसम्म २४ लाख खर्च भइसकेको बताउनुभयो । जिल्ला नागरिक समाजका संयोजक रुपबहादुर मल्लले छायाँनाथ रारा नगरपालिकाले जस्तो अन्य पालिकाले पनि सिको गरी नागरिकको  हकहितका लागि काम गर्न सुझाव दिनुभयो ।