• १३ वैशाख २०८१, बिहिबार

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

blog

काठमाडौं, पुस १९ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक तीन दशमलव शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलव शून्य छ मा झरेको  छ । 

आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३९ अङ्कले ओरालो लागेर तीन सय ९४ दशमलव ६२ मा सीमित भएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये नौ उपसमूहको शेयर मूल्य घट्दा आउँदा चार उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । नेप्सेका अनुसार कारोबार भएकामध्ये एक सय सात कम्पनीको शेयर मूल्य बढेको छ । 

यस्तै, एक सय दुई उपसमूहको शेयर मूल्य ओरालो लाग्दा तीन उपसमूहको शेयर मूल्यमा कुनै परिवर्तन भएन । कूल ८२ लाख २२ हजार आठ सय ३३ कित्ता शेयर रु तीन अर्ब ४५ करोड ८० लाख ८९ हजार सात सय ८७ बराबरको कारोबार भयो ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ४३ करोड १९ लाख ६४ हजार दुई सय ३६ बराबरको कारोबार भयो । एनआइसी एसिया बैङ्क नौ करोड ६६ लाख ९५ हजार, सानिमा बैङ्क नौ करोड ४९ लाख १२ हजार आठ सय १४, हिमाल दोलखा हाइड्रोपावर आठ करोड १७ लाख ९४ हजार चार सय ५२ र नेपाल पुनरबीमा कम्पनी आठ करोड तीन लाख ४२ हजार आठ सय १८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आज विभिन्न चार कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । जसमा श्वेत गङ्गा हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्स्योरेन्स छन् । यस्तै, नेरुडे लघुवित्तको शेयर मूल्य सात दशमलव ७३ प्रतिशतले बढेको छ । 

त्यस्तै, विन नेपाल लघुवित्त पाँच दशमलव ५९, बोटलर्स नेपाल तराई लघुवित्त पाँच दशमलव ५४, दोर्दी खोला जलविद्युत् तीन दशमलव ४४, पिपल्स पावर कम्पनी तीन दशमलव ४० र हिमालयन बैङ्कको शेयर मूल्य  तीन दशमलव ३२ प्रतिशतले घटेको छ । रासस