• १६ चैत २०८०, शुक्रबार

समाजवादीको केन्द्रीय सचिवालयले सरकारमा जानेबारे निर्णय गर्ने

blog

पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्नुहुँदै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल ।

काठमाडौं, पुस १९ गते। नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय केन्द्रीय सचिवालयले टुङ्गो लाउने भएको छ। 

आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकले मुख्य दुई निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। सरकारमा सहभागी हुने वा नहुने विषयमा थप अध्ययन र छलफलको आवश्यकता रहेको औँल्याउँदै यसको निर्णय गर्ने अधिकार सचिवालयलाई प्रदान गरिएको उहाँको भनाइ छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले भन्नुभयो, “नयाँ गठबन्धनको व्यापक छलफल गरेका छौँ। यस बारेमा आवश्यक  छलफल गर्नुपर्नेछ। यसले देश र जनताको हितमा के–कस्ता कार्यक्रम ल्याउन सक्छ। यस सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार सचिवालयलाई प्रदान गरिएको छ।” 

यो विषयमा सरकारको तर्फबाट कुनै औपचारिक प्रस्ताव नआएको उहाँले प्रष्ट पार्नुभएको छ।

एकीकृत समाजवादीको हिजो सोमबारदेखि बसेको तेस्रो पोलिटब्युरो बैठकले  वामपन्थी दलबीचमा पार्टी एकता, सहकार्य गर्ने, मोर्चा बनाउने विषय केन्द्र भागमा राखेर काम गर्ने निर्णय गरेको छ। 

समाजवादीको केन्द्रीय पोलिट्ब्यूरोले केन्द्रीय सचिवालयलाई यसको संयोजन गर्दै अगाडि बढाउने निर्णय गरिएको जानकारी दिनुभयो।

बैठक मुख्यगरी पार्टीलाई कसरी सफल, सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएको उहाँको भनाइ छ।