• १६ चैत २०८०, शुक्रबार

जेलमा आक्रमण गरी १४ को हत्या

blog

मेक्सिको, पुस १९ गते । बन्दीहरू राखिएको जेलमा अज्ञात व्यक्तिहरूले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।

सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरूले हमला गरेका थिए । सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरू चार जना बन्दीको ज्यान गएको हो ।

मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरूले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए ।

जेलका अधिकारीहरूका अनुसार उनीहरू बिहानको समयमा ठूलो सङ्ख्यामा आएका थिए र अकस्मात् गोली चलाएका थिए ।

सो आक्रमणमा परेर अरू १३ जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल पुर्‍याइएको छ ।

त्यस्तै सो आक्रमणको समय पारेर सो जेलमा रहेका २४ जना बन्दी भागेका छन् । उनीहरूलाई प्रहरीले खोजी गरेको तर भेटाएको छैन ।

त्यस क्रममा दुई जना बन्दुकधारी पनि मारिएका बताइएको छ । जेलका अधिकारीहरूले सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीहरूले हमला गरेका अनुमान गरिएको बताएका छन् ।

अहिले सो जेलमा थप सुरक्षाकर्मीहरूलाई राखेर सुरक्षा दिइएको बताइएको छ । रासस/सिन्ह्वा