बस्तीमा मासिँदै खेतीयोग्य जमिन

मधुसुधन तिमल्सिना

kavreकाभ्रे, पुस ३० गते । जिल्लाका मुख्य सहर तथा आसपासका खेतीयोग्य जमिन टुक्र्याउँदै बस्ती नै निर्माण हुन थालेपछि कृषि उत्पादनमा ह्रास आउने भएको छ । कृषि उत्पादनमा रहेको काभ्रेमा केही वर्षयता उब्जाउ हुने फाँटहरूमा अव्यवस्थित रूपमा बस्ती बस्न थालेपछि उब्जाउ हुने भूमिमा सङ्कटमा परेको छ ।
राजधानी काठमाडौँबाट नजिक रहेको पर्यटकीय एवं कृषि उत्पादनको मुख्य जिल्लाका रूपमा रहेको काभ्रे जिल्लामा भूकम्पपछि नयाँ बस्ती निर्माणको नाममा खेतीयोग्य जमिन टुक्र्याउने क्रम बढेको छ । जिल्लाको कृषि उत्पादनको हवका रूपमा रहेका धुलिखेल, बनेपा, पनौती, पाँचखाल, भकुन्डे, कुन्ता, कुशादेवी, खोपासीलगायतका स्थानमा अव्यवस्थित रूपमा खेतीयोग्य जमिन घरघडेरीमा प्रयोग हुन थालेको छ ।
भूकम्पले गाउँमा घर भत्किएपछि अधिकांश पीडितको रोजाइँ बजार पर्न थालेपछि अहिले खेती योग्य जमिन घडेरीमा बिक्री भइरहेको छ । भूकम्पले घर भत्किएसँगै घर घडेरीका नाममा बिनायोजना प्लटिङ गर्ने र बस्ती विस्तार गर्ने क्रम बढेको हो । नयाँ संरचना बनाउँदा सहर बजार र उत्पादनशील जमिनमा घर घडेरी किनबेच बढेपछि खेतीयोग्य जमिन मनोमानी रूपमा नै मासिन थालेकाले कृषि उत्पादनमा गिरावट आउने देखिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले बताउनुभयो । उहाँका अनुसार गाउँमा जमिन बाँझिँदै गएका छन्, सहरमा घर बस्ती बढ्दै छन् र यसबारे नसोच्ने हो भने भविष्यमा कृषियोग्य जमिन नपाउने अवस्था हुन्छ ।
उहाँले यस विषयमा सरोकारवालाहरूले ध्यान दिन ढिलाइ गरिरहेको बताउनुभयो । सहरी क्षेत्रमा आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, यातायात र रोजगार तथा मनोरञ्जनलगायतका सेवा सुविधा सहजै हुने भएकाले गाउँबाट बसाइँ–सराईको बढ्दो क्रमले सहर आसपासका खेतीयोग्य जमिन नास हुँदै गएको हो । काभ्रेको मात्र नभई छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखालगायतका बासिन्दा राजधानी काठमाडौँबाट नजिक रहेकै कारण काभ्रे सदरमुकाम धुलिखेल र आसपासका जमिनलाई रोजाइमा राख्ने गर्छन् ।
जग्गा प्लटिङबारे जग्गाधनी र दलालहरूले नगरपालिका र अन्य सम्बन्धित सरकारी निकायलाई जानकारी नै नदिई आफूखुसी जमिनको खण्डीकरण गरिरहेका छन् । नगरपालिकाहरूले भू–उपयोग नीति लागू गराउन नसक्दा पनि खेतीयोग्य जमिन खण्डीकरण बढी रहेको छ ।
मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर बाइबाले भू–उपायोग नीति बनाउन छलफल गरिरहेको बताउनुभयो । नगरको सम्रग विकास र नयाँ आवास निर्माणका लागि नीति बनाउने क्रममै छौँ, नगरलाई सम्पूर्ण अधिकार र कानुन नआएकाले केही ढिलाइ भएको छ ।
जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको कुल क्षेत्रफल एक लाख ४० हजार ४८६ हेक्टर क्षेत्रफलमध्ये ४४ हजार २१९ हेक्टर जमिन खेतीयोग्य रहेको छ । जसमध्ये जिल्लाका ७० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर छ । बढ्दो जनसङ्ख्या र सहरीकरणले मापदण्डविपरीत उर्बर फाँटहरूमा अव्यवस्थित बस्तीको विकास हुन थालेको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds