पाँच नयाँ सब स्टेसन निर्माण हुँदै

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, पुस ३० गते । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकामा पाँच स्थानमा नयाँ सब स्टेसन निर्माण गर्न थालेको छ । नियमित, भरपर्दाे तथा गुणस्तरीय विद्युत् आपूर्ति गर्न प्राधिकरणले सब स्टेसन थप्न लागेको हो ।
प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालका चापागाउँ, फुटुङ र मूलपानीमा १३२÷११ केभीको सब स्टेसन निर्माण गर्न थालिएको छ । त्यसैगरी लप्सीफेदीमा २००÷१३२ केभी र चाँगुनारायणमा १३२÷११ केभीको सब स्टेसन निर्माणको प्रक्रिया अघि बढाइ सकिएको छ ।
पाँचवटै सब स्टेसन निर्माणका लागि ठेक्का सम्झौतासमेत भइसकेको छ । हाल उपत्यकामा विद्यमान सब स्टेसन आयुको दृष्टिले पुराना भएका र प्रविधिसमेत पुरानो प्रयोग गरिएकाले बढी लोड लिने नसक्ने, समयसमयमा बिग्रने, प्राविधिक समस्या देखा पर्ने गरेकाले उपत्यकामा गुणस्तरीय विद्युत् सेवा दिन नसकिएको प्राधिकरणले जनाएको छ ।
निर्देशनालय प्रमुख सिलवालले भन्नुभयो, प्रसारण लाइनमा बिजुली भए पनि ग्राहकसम्म गुणस्तरीय र भरपर्दाे सेवा दिन नसकिएको वर्तमान अवस्थालाई सुधार गर्न प्राधिकरणले यो कार्यलाई प्राथमिकतामा राख्दै आएको छ । उपत्यकाभित्र बसाइँ सर्ने क्रम बढ्दै गएकोले भविष्यमा आई पर्ने विद्युत् वितरणको समस्यालाई समेत यी सब स्टेसनको निर्माणपछि सहज हुने उहाँले बताउनुभयो । हाल उपत्यकाभित्र नौवटा वितरण केन्द्रबाट ग्राहकलाई विद्युत् आपूर्ति तथा वितरण गरिँदै आएको छ । एउटा सब स्टेसनमा प्राविधिक समस्या आउने बित्तिकै उपत्यकाभर नै अन्धकार हुने हालको समस्यालाई समाधान गर्न पनि यी नयाँ थप सब स्टेसन निर्माण गर्न थालिएको हो । यी थप नयाँ सब स्टेसनको निर्माणपछि कुनै सब स्टेसनमा समस्या आउँदा वैकल्पिक रूपमा अर्काे सब स्टेसनमार्फत विद्युत् प्रवाह गर्न सकिने हुन्छ । त्यसैगरी, माथिल्लो तामाकोसी र न्यु खिम्तीलगायतका विद्युत्लाई उपत्यका भित्र्याउनका लागि सिन्धुपाल्चोकको बाह्रबिसेमा पनि नयाँ सब स्टेसन निर्माण गर्न थालिएको हो । यो सब स्टेसन निर्माण भएपछि उपत्यकाको मागलाई सम्बोधन गर्न उपत्यकाबाहिरको विद्युत् सहजै उपत्यका भित्र्याउन सकिनेछ । एसियाली विकास बैङ्कको ऋण सहयोगमा प्राधिकरणले यो कार्य सञ्चालन गरिरहेको छ । आगामी दुई वर्षभित्र यी सबै सब स्टेसन निर्माण गरिसक्ने लक्ष्य प्राधिकरणले लिएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds