• १६ चैत २०८०, शुक्रबार

सम्पदा संरक्षणबारे विशेष चासो

blog

काठमाडौँ, पुस १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका चाडबाड, संस्कृति र सम्पदा संरक्षणका लागि चासो व्यक्त गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनीता डङ्गोलसँग सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले काठमाडौँको चाडबाड, जात्रा र यहाँको पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रपतिले हाम्रा सम्पदा संस्कृति संरक्षणसम्बन्धमा विशेष चासो राख्दै आउनुभएको सर्वविदितै छ । उहाँकै विशेष चासोमा रानीपोखरीलगायत यहाँका कतिपय सम्पदाका पुनर्निर्माण तथा जीर्णोद्धार पनि भएका छन् । यसै विषयमा केन्द्रित भएर काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखले राष्ट्रपतिसँग भेट गर्नुभएको हो ।”

काठमाडौँ उपत्यकाको सन्दर्भमा राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपतिले कतिपय चाड, जात्रामा साँस्कृतिक भूमिकासमेत निर्वाह गर्दै आउनुभएकाले पनि सोसम्बन्धमा सोमबारको भेट भएको प्रेस विज्ञ ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेटघाटक्रममा राष्ट्रपति भण्डारीले सुन्धारा, टुँडिखेल, खुलामञ्च क्षेत्रको संरक्षण प्रवद्र्धनका साथै यहाँ मनाइने चाडबाड तथा जात्रा व्यवस्थापनलगायतका विषयमा काठमाडौँ महानगरबाट भइरहेका काम–कारबाहीबारे जानकारी लिनुभएको थियो ।

महानगर प्रमुख साहका सचिवालय सदस्य भुवदेव साहले काठमाडौँमा मनाइने इन्द्रजात्राको थप व्यवस्थापन, सो जात्राका लागि सालिन्दा रकम छुट्याउनुको सट्टा अक्षयकोष खडा गर्नेलगायतका विषयमा राष्ट्रपति भण्डारी र महानगर प्रमुख साहबीच छलफल भएको जानकारी दिनुभयो । 

सचिवालय सदस्य साहका अनुसार सो अवसरमा उपत्यकामा मनाइने विभिन्न जात्रामा काठमाडौँ महानगरपालिकाको मुख्य भूमिका भए पनि गुठी संस्थानको समेत दायित्व हुनुपर्ने विषयमा छलफल भएको थियो ।