• ८ वैशाख २०८१, शनिबार

जीडीपीमा मधेश प्रदेशको हिस्सा १३ प्रतिशत

blog

काठमाडौँ, पुस १९ गते ।  राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा मधेश प्रदेशको हिस्सा १३ दशमलव ३ प्रतिशत रहेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को अनुमानित कुल गार्हस्थ्य उत्पादन ४१ खर्ब पाँच अर्ब ५४ करोड रहेकामा मधेश प्रदेशको पाँच खर्ब ४४ अर्ब ८१ करोड हिस्सा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । मधेश प्रदेश वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवदेनले मधेश प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ३ प्रतिशत रहने अनुमान गरेको छ ।

राष्ट्र बैङ्कले मधेश प्रदेशका आठ जिल्लाका आर्थिक गतिविधिको अवस्थाबारेमा अध्ययन गरेको थियो । मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३४ दशमलव ५ प्रतिशत, ११ दशमलव ९ प्रतिशत र ५३ दशमलव ६ प्रतिशत रहने अनुमान गरिएको छ । 

मधेश प्रदेशमा तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ३ दशमलव २४ प्रतिशतले वृद्धि भई ८४ हजार ५०७ हेक्टर पुगेको प्रतिवेदनमा उल्लेख छ । 

आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेशका आठ जिल्लामा ४६ लाख ९५ हजार ८०२ मेट्रिक टन खाद्य तथा अन्य बाली उत्पादन भएको छ । सो अवधिमा ११ लाख ५७ हजार ४७३ मेट्रिक टन तरकारी तथा बागवानी, पाँच लाख २९ हजार ३३५ मेट्रिक टन फलफूल तथा मसला उत्पादन भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । उत्पादित तरकारीमध्ये सबैभन्दा बढी महोत्तरी जिल्लामा तीन लाख ११ हजार पाँच सय मेट्रिक र पर्सा जिल्लामा सबैभन्दा कम ७२ हजार ४५० मेट्रिक टन उत्पादन भएको छ । 

बढ्यो मासुको उत्पादन

मासुको उत्पादनमा ६ दशमलव ४९ प्रतिशतले वृद्धि भई एक लाख ३७ हजार ६३६ मेट्रिक टन पुगेको प्रतिवेदनमा उल्लेख छ । यस्तै अन्डा उत्पादन २ दशमलव ३३ प्रतिशतले बढेर १० लाख दुई हजार ११२ गोटा उत्पादन भएको छ । यस्तै मधेश प्रदेशमा माछा उत्पादन ६ दशमलव ४२ प्रतिशतले वृद्धि भई ४० हजार ५४६ मेट्रिक टन उत्पादन भएको छ । सबैभन्दा बढी माछा उत्पादन सिरहामा र कम उत्पादन पर्सा जिल्लामा भएको छ । दूध उत्पादन ६ प्रतिशतले ह्रास आई छ लाख ५९५ लिटर उत्पादन भएको छ ।

कृषि क्षेत्रमा ५३ अर्ब कर्जा प्रवाह

सो आर्थिक वर्षमा बैङ्क तथा वित्तीय संस्थाबाट मधेश प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ५३ अर्ब ९५ करोड रुपियाँ पुगेको छ, जुन कुल प्रवाहित कर्जाको १२ दशमलव ५५ प्रतिशत हो । यस्तो कर्जा सबैभन्दा धेरै सर्लाहीमा १६ दशमलव ४७ प्रतिशत रहेको छ भने सबैभन्दा कम सप्तरीमा ७ प्रतिशत छ । यस्तै मधेश प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा २२ अर्ब ३० करोड रुपियाँ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १४ अर्ब पाँच करोड रुपियाँ थियो । 

यस प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरखाद्य वस्तु उत्पादन उद्योगतर्फ ५२ दशमलव ३९ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३० दशमलव ५७ प्रतिशत, मेसिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादनतर्फ ७ दशमलव ६२ प्रतिशत कर्जा प्रवाह भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।