• १२ वैशाख २०८१, बुधबार

कनकाई अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

blog

लीलाराज खडका 

बिर्तामोड, पुस १८ गते । झापाको कनकाई नगरपालिका –३ मा रहेको नगर अस्पतालमा नगरपालिका र दाताहरूको सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । विशेष कार्यक्रमबीच कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले अक्सिजन प्लान्टको उद्घाटन गर्नुभयो । कोरोना कहरका बेला कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो तलवभत्ताको रकमबाट १० लाख रुपियाँ सहयोग गरेर अभियान सुरु गर्नुभएको थियो । 

अभियानबाट कुल ५८ लाख ४३ हजार ४१३ रुपियाँ दाताबाट सहयोग प्राप्त भएको र बाँकी रकम नगरपालिकाको सहयोगमा कुल १ करोड ६६ लाख ५ हजार ७०६ रुपियाँको लागतमा प्लान्टको सञ्चालन गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । 

अक्सिजन प्लान्ट सञ्चालन गर्न सहयोग गर्ने दातालाई कार्यक्रममा सम्मान गरिएको थियो । अक्सिजन प्लान्टको सञ्चालन गर्न देश तथा विदेशका ११७ जना दाताले सहयोग गरेको नगरप्रमुख पोखरेलले बताउनुभयो ।  

दैनिक १६० वटा सिलिन्डर भर्न सकिने यस प्लान्टबाट उत्पादित अक्सिजन कनकाई नगरवासीका लागि भने निःशुल्क प्रदान गरिने कनकाई नगर स्वास्थ्य प्रमुख खगेन्द्र दंगालले बताउनुभयो । यहाँबाट उत्पादित अक्सिजन बिर्तामोड, दमक लगायतका अस्पतालमा वितरण गरिने बताइएको छ ।