• ४ वैशाख २०८१, मङ्गलबार

शीतलहरका कारण विद्यालय बन्द

blog

कपिलबस्तुको यशोधरा गाउँपालिकाको कार्यालय । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, पुस १८ गते । अत्यधिक चिसो र शीतलहरका कारण कपिलवस्तुमा विद्यालय बन्द गरिएको छ । जिल्लाको यशोधरा गाउँपालिका र शुद्धोदन गाउँपालिकाले विद्यालय बन्द गरेका हुन । एक सातादेखि जारी शीतलहर र हुस्सुका कारण जाडो बढेकाले पठनपाठनमा समस्या आएको भन्दै सरकारी र निजी विद्यालय बन्द गरिएको छ । 

यशोधरा गाउँपालिकाले पुस १७ गतेदेखि ३० गतेसम्म १३ दिनको लागि विद्यालयमा जाडो बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहले बताउनुभयो । त्यस्तै, शुद्धोधन गाउँपालिकाले पुस २० गतेदेखि २९ गतेसम्मका लागि पालिका भित्रका सबै शैक्षिक संस्था बन्द गरिएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले बताउनुभयो । 

चिसोले गर्दा बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी र दैनिक ज्यालादारी गरेर खानेलाई समस्या भएको छ । चिसोले गर्दा विद्यालयमा विद्यार्थीहरूको न्यून उपस्थितिले गर्दा पठनपाठन समेत प्रभावकारी हुन नसकेको शिक्षक ओमकार त्रिपाठीले बताउनुभयो । उहाँले भन्नुभयो ‘स–साना विद्यार्थी जाडोले काम्ने, रुघाखोकी र ज्वरोले प्रभावित हुन थालेका थिए ।’ चिसो र शीतलहरका कारण कपिलवस्तुमा जनजीवन कष्टकर बन्दैगएको छ ।