• ७ वैशाख २०८१, शुक्रबार

तिला नदीमा बालक बेपत्ता

blog

बालक वेपत्ता भएको भिग्मस्थित तिला नदी । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, पुस १८ गते । तिला नदीमा एक बालक बेपता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका १ को भिग्म बजारस्थित तिला नदी किनारमा खेलिरहेका १३ वर्षीय बालक बेपत्ता भएका हुन् । 

तिलागुफा नगरपालिका उपप्रमुखका स्वकीय सचिव जीवन शाहीले दिएको जानकारीअनुसार नदी किनारमा खेलिरहेका दुई जना बालक नदीमा बगेका थिए । एक जनाको स्थानीयले उद्धार गर्न सफल भए पनि एक जना बेपता भएका छन् । बेपत्ता हुनेमा तिलागुफा नगरपालिका वडा नं १ का चन्द्र बुढाका छोरा वर्ष १३ का तपेन्द्र बुढा रहेका छन् । 

बुढासँगै नदीमा बगेका जाजरकोट घर भई तिलागुफा नगरपालिका १ भिग्म बजारमा व्यवसाय गर्दै आउनुभएका चन्द्रविक्रम शाहीका छोरा वर्ष १२ का लेकबिक्रम शाहीलाई भने सकुशल उद्धार गरिएको छ । बेपत्ता भएका बालक बुढाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । नदी किनारमा खेल्न गएका बालक नदीमा खसेका थिए ।