• १३ वैशाख २०८१, बिहिबार

‘कर्णालीको विकास र समृद्धिका लागि एक हौँ’

blog

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन । तस्बिर : मुना हमाल

मुना हमाल

सुर्खेत, पुस १८ गते । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन सोमबारदेखि सुरु भएको छ । प्रथम अधिवेशनको पहिलो दिन प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल तथा प्रदेश सभा सदस्यहरूले आफ्नो धारणा राखेका छन् । 

प्रदेश सभा सदस्यहरूले कर्णालीको विकास र समृद्धिका लागि एक हुनुपर्ने स्वर राखेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीको विकासका लागि एकमत भएर अघि बढ्नुपर्ने बताउनुभयो । “कर्णालीको विपक्षी भनेको रोग, भोग, अशिक्षा, पछौटेपन हो” उहाँले भन्नुभयो । विधायकको रूपमा रहेको भन्दै राम्रा कानुन बनाउन नसके कर्णालीलाई राम्रा बनाउन नसकिने भएकाले यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ । 

नेकपा (एमाले) का संसदीय दलका नेता यामलाल कँडेलले पनि कर्णालीको विकास र परिवर्तनका निम्ति एक ढिक्का हुनुपर्ने धारणा राख्नुभयो । विकास गर्ने खालको योजना छनोट गरेर नीति निर्माण गर्न सकेमात्र कर्णालीको विकास सम्भव हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा विचार भिन्न होलान् । भूमिका, जिम्मेवारी भिन्न होलान् । हामीले प्रतिनिधित्व गर्ने प्रदेश संरचनाको मर्यादा, महत्त्व र औचित्य पुष्टि गर्ने चुनौती हाम्रो काँधमा आएको छ ।’ कर्णालीको आर्थिक सूचकाङ्क सकारात्मक नरहे पनि त्यसलाई सकारात्मक बनाउनेमा सबैको हातेमालो आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले पनि कर्णालीको गरिबी प्रतिपक्ष रहेको भन्दै यसको विरुद्ध सबै लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘कर्णालीको प्रतिपक्ष, दुष्मन वा शत्रु भनौँ गरिबी नै हो । हामीलाई यसविरुद्धमा लड्न साझा अवधारणा चाहिएको छ ।’ 

जनताले आशा र भरोसाका साथ निर्वाचित गराएको बताउँदै जनताप्रति जबाफदेही भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । कर्णाली सुनको डल्लो भएको उल्लेख गर्दे यसलाई गहनाको रूपमा परिवर्तन गर्न आफूहरू कालिगडको रूपमा उभिनुपर्ने उहाँले चर्चा गर्नुभयो ।

राप्रपाकी प्रदेश सभा सदस्य सन्तोषी शाहीले जनताको सेवा र समग्र विकासका लागि एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा परिवर्तनका लागि भएका आन्दोलनहरू सम्झौतामा मात्र टुङ्गिएका छन् । समग्र विकासका लागि एक ढिक्का भएर लाग्नुपर्छ ।’ 

एकीकृत समाजवादीकी प्रदेश सभा सदस्य कल्याणी खड्काले सुन्दर र नमुना कर्णाली निर्माणका लागि एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘समयानुकूल नीति बनाउने, संशोधन गर्ने र सुन्दर, नमुना कर्णाली बनाउन र समग्र विकासका लागि एक भएर लाग्न सुखी र समृद्धिको एजेण्डा बनाउनुपर्छ ।’  

कर्णाली प्रदेश सभाका स्वतन्त्र प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले कर्णाली बनाउन सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । अब भाषण गरेर समृद्धि नहुने भन्दै काम गर्नुपर्ने उहाँको भनाइ छ । विकासका लागि सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । प्रदेश सभाको अर्को बैठक पुस २५ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।