• १६ चैत २०८०, शुक्रबार

सरकारको परराष्ट्रनीति एउटै हुन सकेन : अध्यक्ष तिमिल्सिना

blog

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, पुस १८ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्रनीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो ।

उहाँले अन्य मुलुकमा कुनै पनि पार्टीको सरकार बनेपनि एउटै परराष्ट्रनीति भएको तर नेपालमा भने एउटै परराष्ट्रनीति हुन नसकेको धारणा व्यक्त गर्नुभयो ।नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्रनीतिहरु पनि परिवर्तन हुने गरेको भन्दै जुनसुनै सरकार आए पनि एउटै परराष्ट्रनीति हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘‘सचिव, सहसचिवहरु पार्टीका मान्छे भइदिँदा समस्या भइरहेको छ । उमेर कम भएको मान्छे ५८ मा उमेरहद बनाएर आफू त्यो स्थानमा हुन चाहनुहुन्छ, ६० वर्ष भएको मान्छे रोकेर आफू नै बस्न चाहनुहुन्छ । म त तपाईँको पार्टीको हजुर, यो ऐन ल्यायौँ भनेर मन्त्रीहरूसँग जान्छन् ।’’

अध्यक्ष तिमिल्सिनाले नेपालमा सहसचिव, सचिवहरू नै राजनीतिक दलहरूका मान्छे हुने गरेको र आफ्नो स्वार्थपूर्तिका लागि नीति, नियम बनाउँदा प्रणाली बिग्रिएको बताउनुभयो ।

अध्यक्ष तिमिल्सनाले भन्नुभयो, ‘‘त्यसपछि के हुन्छ ? हाम्रोमा व्यवहारिक अभ्यास यही नै छ । धेरै यसरी बिग्रिएको छ । हाम्रो परराष्ट्रनीति के हो, अन्य देशमा हेर्दा जुनसुकै सरकार आए पनि हामीलाई हेर्ने एउटै दृष्टिकोण छ । तर, हाम्रा त त्यही पार्टीकै मन्त्री फरक फरक भए भने फरक फरक हुन्छ । यस्तो कुरामा नीति अनुसन्धान प्रतिष्ठानले अध्ययन गर्न जरुरी छ ।’’

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पठाएका ५ वटा विधेयक अहिले शून्यमा पुगेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा मन्त्रीमण्डलको विस्तार भइसकेपछि सम्बन्धित मन्त्रालयसँग पहिलेका विधेयकहरूलाई नै अघि बढाउन आग्रह गर्ने सके बताउनुभयो । आफू अध्यक्ष भइसकेपछिको दोस्रो वर्षदेखिकै विधेयकहरू अहिलेसम्म प्रतिनिधि सभाबाट पास हुन नसकेको भन्दै संसद्ले लापरबाही गरेर अघि बढे संसद्प्रतिको विश्वास गुम्ने उहाँको धारणा छ ।

अध्यक्ष तिमिल्सिनाले सबै पदाधिकारीहरूले निष्पक्ष भएर काम गरेको खण्डमा राजनीतिक नियुक्तिको दबाब कम हुँदै जाने बताउनुभयो ।