चमेलियाको व्यावसायिक उत्पादन

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, पुस २९ गते । निर्माण सुरु गरेको झण्डै दस वर्षपछि शुक्रबारबाट चमेलिया जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन गरिएको छ । दार्चुलाको बलाँचमा निर्माण भएको भएको छ ।
आयोजना प्रमुख अजयकुमार दाहालका अनुसार आयोजनाको पहिलो युनिटबाट तीन मेगावाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । शुक्रबार तीन मेगावाटबाट उत्पादन सुरु गरिएको पहिलो युनिटले छ दिनसम्म विस्तारै बढाउँदै पूर्ण क्षमतामा १५ मेगावाट उत्पादन गरिसक्नेछ । शुक्रबार साँझ गोरखापत्रसँग कुरा गर्दै आयोजना प्रमुख दाहालले भन्नुभयो, पहिलो युनिटको तीन मेगावाट आज दिउँसोबाट सिन्क्रोनाइज (राष्ट्रिय प्रसारण लाइनसँग समायोजन) भएको छ । यसलाई ग्रयाजुअल्ली (विस्तारै) बढाउँदै लग्ने योजना छ । chameliya
पहिलो युनिटबाट उत्पादन भएको बिजुलीले शुक्रबारबाट व्यावसायिक वितरणका लागि पठाइ सकिएको छ । यहाँबाट उत्पादिन बिजुली दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरियासम्मको १३२ केभीको प्रसारण लाइनमार्फत अत्तरिया सव–स्टेसनमा ल्याइएको छ र राष्ट्रिय प्रसारणमा प्रवाह भइसकेको छ ।
प्राविधिक दृष्टिले एकैपटक १५ मेगावाट उत्पादन गर्न नमिल्ने भएकाले र उत्पादन बढाउँदै लैजाँदा प्राविधिक रूपमा कमी–कमजोरी देखिएमा सुधार गर्न सहज हुने भएकाले पहिलो युनिटलाई पूर्ण क्षमतामा चलाउन कम्तीमा छ दिन लाग्ने बताइएको छ ।
आयोजना प्रमुख दाहालका अनुसार आउँदो माघ ५ गतेबाट तीन दिनसम्मका लागि पहिलो युनिटलाई अन्तिम परीक्षणमा राखिने छ । नयाँ उत्पादन गर्न थालेको जलविद्युत् टेस्टसम्म पनि केही खराबी आउन सक्ने देखिने भएकाले यो परीक्षण गरिन थालिएको हो ।
यो परीक्षण समाप्त भएपछि सो युनिट विद्युत् उत्पादनका लागि योग्य भएको मानिन्छ । पहिलो युनिटबाट पूर्ण रूपले उत्पादन भएपछि तत्कालै १५ मेगावाट दोस्रो युनिटबाट पनि उत्पादन गरिने कार्ययोजना बनाएको आयोजनाले जनाएको छ ।
व्यावसायिक उत्पादन गर्नका लागि परामर्शदाता कम्पनी, निर्माण ठेकेदार कम्पनी र आयोजनाका तीनवटै निकायका संयुक्त प्राविधिक टोलीलाई खटाइएको छ । पहिलो युनिटले पूर्ण रूपमा उत्पादन नगरुन्जेलसम्म तीनवटै प्राविधिक टोलीले नियमित अनुगमन र रेखदेख गर्नेभएका छन् ।
सन् २००७ मा निर्माण सुरु गरी सन् २०११ को डिसेम्बरमा निर्माण सम्पन्न गरी बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको भए पनि सन् २०१८ मा मात्र उत्पादन भयो ।
यस आयोजनाको सुरुको अनुमानित लागत आठ अर्ब ५० करोड रुपियाँ थियो तर झण्डै १० वर्षको अवधिसम्म १५ अर्ब ५० करोडभन्दा बढी खर्च पुगेको अनुमान गरिएको छ । भौगोलिक विकटताले आयोजनाको पूर्वाधार निर्माणमा अपेक्षाभन्दा निकै समयमा बढी लागेको आयोजनाले दाबी गर्दै आएको छ ।
यो अवधिमा सार्वजनिक लेखा समितिको निर्देशनले समेत दुई वर्ष जति काम रोकिएको थियो । आयोजनाको सिभिलतर्फको काम सन् २००७ मा र इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल तथा प्रसारण लाइनको काम सन् २००९ को मे महिनाबाट सुरु गरिएको थियो । प्रसारण लाइनतर्फ भने दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरियासम्मको १३१ किलोमिटर दूरीमा ४१२ टावर निर्माण गरिएका छन् । सिभिलतर्फ चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पाेरेसनले र इलेक्ट्रोमेकानिकल, हाइड्रो मेकानिकल तथा प्रसारण लाइनको काम कोरियन कम्पनी कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनीले काम गरेको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds