• १२ वैशाख २०८१, बुधबार

इजरायली प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन वार्ता

blog

जेरुसेलम, पुस १८ गते । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीबीच आइतबार टेलिफोन वार्ता भएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध अगाडि बढाउने र क्षेत्रीय सुरक्षा प्रवर्द्धन गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेताहरूले क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासका साथै सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने इच्छा व्यक्त गरेका छन् ।

उहाँहरूले ‘दुवै देशका जनता र मध्यपूर्वका सबै देशको हितका लागि शान्ति, स्थिरता र सुरक्षा प्रवर्द्धन गर्ने  विषयमा विशेष महत्त्व दिएका छन्’ विज्ञप्तिमा  भनिएको छ ।

प्रधानमन्त्री नेतान्याहु चरम दक्षिणपन्थी गठबन्धन सरकारको नेतृत्वमा पदासीन भएको तीन दिनपछि यो वार्ता भएको हो ।

इजरायल र इजिप्टले  सन् १९७९ मा शान्ति सन्धिमा हस्ताक्षर गरेका थिए । सो सन्धि इजरायलले अरब राष्ट्रसँग हस्ताक्षर गरेको पहिलो शान्ति सन्धि थियो । त्यसपछि दुई देशबीच सम्बन्ध सुधारको अपेक्षा गरिए पनि तुलनात्मक रूपमा  सम्बन्ध  सुध्रेको छैन ।  रासस/सिन्ह्वा