• ८ वैशाख २०८१, शनिबार

सुनसरीका किसान मकै खेतीतर्फ आकर्षित

blog

सुनसरीको इनरुवा –९ बबियामा हबिब मंसुरीले लगाएको मकैं बाली । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, पुस १८ गते । सुनसरीको रामधुनी नगरपालिका –८ का किसान दिनेश चौधरीले यसपाली गहुँ खेती छाडेर मकै लगाउनुभयो । सोचेजस्तो र लगानीअनुसारको प्रतिफल नमिलेपछि चौधरीले गहुँ खेती त्यागेर मकै खेती लगाउनुभएको हो ।

धानको सिजनमा मलखाद, सिँचाई अभाव भएको र उत्पादनमा पनि कमी भएको अवस्था अर्कोतर्फ गहुँ खेती पनि राम्रो नसप्रिने भएकाले गहुँ खेती त्यागेर मकै खेती गर्नुभएको उहाँले बताउनुभयो । 

गहुँमा एक कठ्ठाका लागि एक हजार रुपियाँ लगानी गर्दा एक हजार दुई सय रुपियाँको समेत गहुँ उत्पादन नभएको तर मकैमा प्रतिकट्ठा दुई हजार रुपियाँको मल, सिँचाइ र बीउमा लगानी गर्दा १० हजार रुपियाँसम्म आम्दानी हुनेगरेको किसानको भनाइ छ ।

त्यसैगरी दुई बिघामा गहुँ खेती गर्दै आउनुभएका सुनसरीको इनरुवा नगरपालिका -९ बबियाका किसान शम्भु यादवले पुरै क्षेत्रमा यसपालि मकै लगाउनुभएको छ । भोक्राहा नरसिंह गाउँपालिका –७ का किसान रामचन्द्र यादवले पनि विगतमा गहुँ खेती गर्दा खासै आम्दानी नभएकाले उहाँले गहुँ लगाउने खेतमा मकै लगाउनुभयो । 

यादवले आफ्नो अरू छिमेकी किसानको अनुभव सुनाउँदै भन्नुभयो, “सुरुका दिनमा गहुँबाहेक अरू बाली लगाउने आँट नभएकाहरूले मकै लगाउँदा प्रतिकट्ठामा १२ मनसम्म उत्पादन गरेको र प्रतिमन १२ सय रुपियाँसम्ममा विक्री गर्न पाएकाले मनग्य आम्दानी गरेकाले आफूले पनि गहुँ त्यागेर मकै लगाएको हो । गाउँघरमा केहीले गहुँ छाडेर मकै लगाएको देखेर आफूले पनि सुरु गरेको र अहिले मन प्रसन्न बनाएको छ ।”

अर्का किसान दीपेन्द्र यादवका अनुसार आफ्नो सानो खेतबारीमा मकै लगाएको पहिलो वर्षमै राम्रो आम्दानी भएकाले यसपालि दुई बिघा जग्गामा मकै लगाएको बताउनुभयो । उहाँ मात्र होइन, अहिले इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाकाका अधिकांश किसानले मकै खेती गरिरहेका छन् । 

गहुँमा एक कठ्ठाका लागि एक हजार रुपियाँ लगानी गर्दा एक हजार दुई सय रुपियाँको समेत गहुँ उत्पादन नभएको तर मकैमा प्रतिकट्ठा दुई हजार रुपियाँको मल, सिँचाइ र बीउमा लगानी गर्दा १० हजार रुपियाँसम्म आम्दानी हुनेगरेको किसानको भनाइ छ । मकै खेतीबाट प्रतिबिघा एक लाख २० हजार रुपियाँ एक मौसममा आम्दानी गरिरहेको बबियाका किसान सियाराम यादवले बताउनुभयो ।

अर्का किसान नरसिंहका रामकिसुन यादवले समेत दुई वर्षदेखि गहुँ खेती छाडेर मकै बाली लगाउन थाल्नुभएको छ । उहाँले गहुँभन्दा मकैमा राम्रो आम्दानी हुने भएकाले मकै खेती सुरु गरेको बताउनुभयो । 

त्यसैगरी सुनसरी सदरमुकाम इनरुवा आसपास क्षेत्रका किसान गहुँको खेतीबाट आम्दानी र उत्पादनमा कमी आउन थालेपछि मकै खेती गर्नतर्फ आकर्षित भएका छन् । उन्नत जातको मकैको बीउबिजनको अभाव र मलको समस्या रहेको भए पनि मकै खेतीबाट नै राम्रो आम्दानी हुनेगरेको किसान बताउँछन् । 

भोक्राहा नरसिंह गाउँपालिका –७ का किसान रामचन्द्र यादवले पनि विगतमा गहुँ खेती गर्दा खासै आम्दानी नभएकाले उहाँले गहुँ लगाउने खेतमा मकै लगाउनुभयो । 

प्रतिकट्ठा १० देखि १२ मनसम्म मकै उत्पादन हुने भएकाले गहुँ छाडेर मकै रोजेको किसानले बताएका छन् । पहिला सुनसरीमा २० हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदैगरेको अवस्थामा जिल्लाभरि दुई हजार हेक्टर क्षेत्रफलमा मात्रै मकै खेती हुनेगरेको थियो । अहिले गहुँ बाली १३ हजार हेक्टर क्षेत्रफलमा सीमित भएको छ भने मकै १४ हजार हेक्टर क्षेत्रफलमा विस्तार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका –९, बबियाका किसान तथा यदुवंशी बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष जसलाल यादवले समेत यस वर्षदेखि आफ्नो तीन बिघा खेतमध्ये दुई बिघामा मकै बाली लगाउनुभएको छ । यादवले गहुँमा धेरै लगानी र हैरानी भए पनि सन्तोषजनक आम्दानी नभएकाले मकै बाली लगाएको बताउनुभयो । 

यादवले प्रतिकट्ठा १० देखि १२ मनसम्म मकै उत्पादन हुने भएकाले मकै खेती बढाएको बताउनुभयो । सोही वडामा एक सय ५९ बढी किसानले मकै बाली लगाएको समूहका सचिव मुसहर साहुले जानकारी दिनुभयो ।