चिन्ताजनक वायु प्रदूषण (सम्पादकीय)

काठमाडौँको वायु प्रदूषणको अवस्था जोखिमपूर्ण अवस्थामा पुगेको र यसले मानव स्वास्थ्यमा गम्भीर प्रभाव पारिरहेको सरोकारवालाले बताउने गरेका छन् । वायु प्रदूषण रोक्न सुरु गरिएका प्रयास प्रभावकारी बन्न नसकेको उनीहरुको भनाइ छ । तर वैज्ञानिक र आधुनिक उपकरणको अभावमा यहाँको वायु प्रदूषणको वास्तविक अवस्था जानकारी हुन सकेको छैन । यहाँ जडान गरिएका केही उपकरण बन्द अवस्थामा छन् । नयाँ उपकरण जडानको कार्य योजनामै सीमित बन्ने गरेको छ । केही विदेशी प्रतिवेदन र केही पुराना तथ्याङ्कका आधारमा सबैले भन्ने गरेको कुरा चाहिँ राजधानी शहर विश्वकै प्रदूषित शहरमध्येमै पर्छ । 

गत कात्तिकको अन्तिम साता नयाँ दिल्लीमा जनस्वास्थ्य सङ्क्रमणकाल घोषणा भयो । नयाँ दिल्लीको वायु विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित मापदण्डभन्दा ७० गुना बढी प्रदूषित भएको पाइएको थियो । काठमाडौँको अवस्था नयाँदिल्लीको भन्दा खासै फरक नभएको अनुमान गरिँदै आएको छ । दक्षिण एसियामा वातावरण, विज्ञान र जलवायु परिवर्तनसम्बन्धी काम र अनुसन्धान गरिहेको नयाँदिल्लीस्थित एक संस्थाले चार वर्षअघि एसियाका २२ ठूला शहरमध्ये काठमाडौँ र दिल्ली सबभन्दा प्रदूषित भएको तथ्य सार्वजनिक गरेको थियो । वातावरणीय सुधार सूचक २०१६ अनुसार नेपाल हावाको गुणस्तर खराब भएको १८० मुलुकमध्ये १४९ औँ स्थानमा छ । सरकारी मापदण्ड घरबाहिर प्रतिघन मिटर ४० र भित्र ५० माइक्रोग्राम छ । काठमाडौँमा यो प्रतिघन मिटर ४९ माइक्रोग्राम रहेको र यो १२० सम्म पुग्ने गरेको सरोकारवालाको दाबी छ । यसको प्रभाव प्रत्यक्ष रूपमा मानव स्वास्थ्यमा पर्छ । यसबाहेक वायु प्रदूषणबाट हुने आर्थिक क्षति पनि निकै ठूलो परिणाममा छ । बढ्दो शहरीकरण, अव्यवस्थित बसोबास र विकास गतिविधिले वायु प्रदूषणको अवस्था खतरातर्फ गइरहेको हो । काठमाडौँको वायु प्रदूषणको मुख्यकारण सवारी साधनबाट निस्कने धुवाँ र धुलो नै भएको विभिन्न अध्ययनले देखाएको छ । यहाँको वायु प्रदूषणमा ३८ प्रतिशत गाडीबाट निस्कने धुवाँ, सडकको धुलो २५ प्रतिशत, कृषि १८ प्रतिशत र इटाभट्टाको ११ प्रतिशत योगदान छ । यसबाहेक घरबाट निष्कने फोहोर, डडेलो र उद्योगधन्दाको धुवाँले वायु प्रदूषण गर्छ । हावा कम बहने र पानी नपर्ने हिउँदमा काठमाडौँको वायु प्रदूषण मानव स्वास्थ्यका निम्ति उच्च जोखिमपूर्ण अवस्थामा पुग्ने दाबी विज्ञहरुको छ ।
वायु प्रदूषण न्यूनीकरणका लागि विभिन्न सरकारी र गैरसरकारी निकायबाट हुने गरेको प्रयासको अप्रभावकारिताले उपत्यकाको वायु प्रदूषणको अवस्था यस्तो गम्भीर अवस्थामा पुगेको हो भन्ने कुरामा दुई मत रहन्न । खासगरी, दीर्घकालीन सोचको अभावमा बनेका कार्यक्रमले परिणाम दिन सकेका छैनन् । अव्यवस्थित शहरीकरण, उद्योगधन्दा स्थापना, विकास निर्माणका काम हुने भएकाले प्रदूषण जोखिममा पुगेको हो । उपत्यकाका विभिन्न भागमा मेलम्ची खानेपानी आयोजनाका लागि पाइप बिछ्याउन सडक खनिए । त्रिपुरेश्वर–नागढुङ्गा सडक, चक्रपथ विस्तारलगायत शहरका विभिन्न भागमा सडक निर्माण र विस्तारका काम भइरहेका छन् । यसले गर्दा धुलो उड्दा वायु प्रदूषण भएको छ । विकास गतिविधिलाई रोक्न सकिँदैन । तर व्यवस्थित ढङ्गले निर्माण कार्य गर्न सकिन्छ । अति व्यस्त सडक खनेर महिनौँ छोडिन्छ, निर्माण सामग्री अलपत्र बनाएर लामो समयसम्म राखिन्छ । सरोकारवाला निकाय वायु प्रदूषणको कुरा गर्दा करोडौँ र अर्बौं रुपियाँ खर्च हुने योजना सुनाउँछन् तर रातभरि सडक खनेर बिहानसम्ममा धुलो नउड्ने बनाउनेपट्टि ध्यान दिँदैनन् । विकास निर्माणलाई व्यवस्थित र सर्वसाधारणलाई असर नगर्ने गरी कसरी सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ सोच्नु जरुरी छ । पुराना गाडी वायु प्रदूषण गर्ने अर्काे कारक हुन् । केही दिनयता सरकारले आकस्मिक रूपमा गाडीको प्रदूषण जाँच गर्दा आधाभन्दा बढी सवारीसाधन मापदण्डभित्र नपरेको पाइने गरेको छ । यस्ता सवारीसाधनलाई विस्थापित गर्ने पट्टी सरोकारवालाको ध्यान जानुपर्छ ।

 

  प्रकाशित मिति: २०७४/९/२८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना