• १६ चैत २०८०, शुक्रबार

कोलम्बियाको युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

blog

न्यूयाेर्क सिटी,  पुस १८ गते । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले कोलम्बियामा भएको युद्धविराम सम्झौताको स्वागत गर्नुभएको छ ।     

उहाँले आइतबार सो सम्झौताको स्वागत गर्नुभएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ ।     

कोलम्बियामा हिंसा गरिरहेका विभिन्न पाँच ओटा सशस्त्र समूहले यहाँको सरकारसँग सम्झौता गरेर छ महिना अवधिका लागि युद्धविराम गर्नेसम्बन्धी पत्रमा हालै हस्ताक्षर गरेका थिए ।     

कोलम्बियाका राष्ट्रपतिले नयाँ वर्ष सन् २०२३ को शुभकामना सन्देश दिने क्रममा गत डिसेम्बर ३१ का दिन सम्बोधन गर्दै यहाँका सशस्त्र पाँच विद्रोही समूहसँग कोलम्बिया सरकारले युद्धविराम गरेको जनाउनुभएको थियो ।     

उहाँले सो युद्धविरामको अवस्था यही सन् २०२३ को जनवरी देखि आगामी जुन ३० तारिखसम्म कायम रहने पनि बताउनुभएको थियो ।     

कोलम्बियामा युद्धविरामसँगै विकसित भएको पछिल्लो राजनीतिक घटनाक्रमले यहाँ शान्ति स्थापनाको आशा यहाँका नागरिकमा बढेको संयुक्त राष्ट्र सङ्घीय महासचिव गुटरेसका प्रवक्ता स्टेफान डुजारिकले बताउनुभएको छ ।     

यही युद्धविरामको अवधिमा यहाँका सबै सशस्त्र समूहहरुसँग शान्ति वार्ताको प्रक्रिया अघि बढाउने र यसका माध्यमबाट देशमा शान्ति स्थापना गर्ने विषयमा सबै पक्ष लाग्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।     

यो युद्धविरामको सही सदुपयोग गरेर कोलम्बियामा शान्ति स्थापनाको काममा लाग्न पनि महासचिव गुटरेसले कोलम्बियाका सबै पक्षसँग आग्रह पनि गर्नुभएको छ ।     

उहाँका प्रवक्ता डुजारिकले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा कोलम्बियामा शान्ति स्थापनाका लागि आवश्यक सबै सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ सदैव तत्पर रहेको पनि जनाइएको छ ।